राहतको पहल चाँडै हुन्छ : प्रम देउवा

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।

आइतबारदेखि लगातार परेको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा धेरै धनजनको क्षति भएको छ भने सडक, बाटोघाटोका साथै पाक्नै लागेका धानबाली र अन्य पशुचौपायाका साथै अन्नबालीसमेत नष्ट गरेको छ । सुदूरपश्चिममा यसै साता भएको वर्षाले भएको क्षतिको विवरण लिन अर्थमन्त्रीसहितको भ्रमणमा प्रभावित जिल्ला पुग्नुभएका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारहरुले जिल्लाका समस्याका बारेमा कुरा राखेका थिए ।

तीन दिनको अविरल वर्षाका कारण जिल्लामा दुई जनाको पहिरामा परी ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएको जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभयो । प्रधानमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आउनुभएका प्रधानमन्त्री देउवाले प्राकृतिक घटनाबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतक र घाइते परिवारका साथै धनजनको क्षति भएका परिवारलाई चाँडै राहतको व्यवस्था गर्ने बताउनुभयो ।

 

 

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८१७:२३

बाढीपहिरो अपडेट: मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता !