काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह आसन्न महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जसरी पनि सभापतिमा दोहोरिन नदिन प्रयासरत देखिन्छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
१३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहको सहयोगमा नेतृत्वमा पुगेका देउवालाई १४ औँ महाधिवेशनबाट सभापतिमा दोहोरिन नदिन पौडेल समूह साझा उम्मेदवारको खोजीमा छ । तर, वरिष्ठ नेता पौडेललाई आफ्नै समूह मिलाउन हम्मे परेको छ ।
पौडेल समूहमा सभापतिका आकांक्षी धेरै छन् । उक्त समूहले साझा उम्मेदवार तय गर्ने प्रयास स्वरुप तीन पटक गुट भेला गरिसकेको छ । पौडेल समूहले भदौ ७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सभापति पदका आकांक्षीहरूको बैठक राखेर वडा अधिवेशन सुरु हुनुपहिले नै आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने समझदारी जुटाएको थियो ।
तर, भदौ १५ र १६ गते पौडेल निवास बोहोराटारमा बसेको बैठक पनि साझा उम्मेदवार टुंग्याउन असफल भयो । सो समूहले भदौ १७ गते आफ्नो समूह एकढिक्का भएको सन्देश प्रवाह गर्न सानेपामा पत्रकार सम्मेलन गरेको थियो । पार्टीको वडा अधिवेशन सुरु हुनुभन्दा एक दिनअघि आयोजित उक्त पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भनेका थिए, ‘भोलिबाट वडा अधिवेशन हुँदैछ, विचार मिल्नेहरू एक भएर एक जनाले सभापतिको घोषणा गर्छौ ँ। हामी एक भएर अगाडि बढ्छौँ । हाम्रो एकतामा कुनै प्रकारको दरार आउने छैन ।’ सो समूहबाट पौडेलका अलावा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिको उम्मेदवार बन्न चाहन्छन् ।
सार्वजनिक रुपमा यी नेताहरुले देउवालाई रोक्न साझा उम्मेदवार बनाउने अभिव्यक्ति दिँदै आए पनि एकअर्कालाई मनैदेखि स्वीकार्ने सम्भावना भने न्यून देखिन्छ । उक्त समूहका आकांक्षीहरुले अरुभन्दा आफू नै सबैभन्दा बलियो उम्मेदवार भएको दाबी गर्दै आएका छन् । प्रायः सबैको दाबी छ– मबाहेक कसैले पनि देउवालाई पराजित गर्न सक्दैन । भदौ १७ को पत्रकार सम्मेलन यता पौडेल समूहले साझा उम्मेदवार तय गर्नेबारे सामूहिक छलफल गरेको छैन । तर, यसबीचमा उक्त समूहका आकांक्षी महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले आ–आफ्नो निर्वाचन क्षेत्रमा आयोजित सार्वजनिक कार्यक्रममा उम्मेदवारी नै घोषणा गरिसकेका छन् ।
अर्का आकांक्षी डा. शेखर कोइरालाले भने जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्ने बताउँदै आएका छन् । असोज पहिलो साता गृहनगर विराटनगरमा उनले जिल्ला अधिवेशनपछि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्ने बताएका थिए । ‘म एक पटकलाई मात्र सभापति बन्ने हो । मलाई कांग्रेस सुध्रियोस् र कांग्रेस पार्टी निर्धारित पद्धतिमा चलोस् भन्ने चाहना छ,’ उनले भनेका छन् । वरिष्ठ नेता पौडेल पनि आफ्नो समूहका आकांक्षीलाई मिलाएर आफैँ सभापतिको उम्मेदवार बन्ने दाउमा छन् ।
‘सम्भावित उम्मेदवार को भन्ने कुरो छलफलमा आउँछ । को हो भन्ने कुरा दुनियाँलाई थाहा पनि होला । सम्भावित उम्मेदवार मेरो मुखबाट यही हो भन्न अहिले नै तयार छैन,’ उनले भनेका छन् । पौडेल समूहलाई सभापतिका आकांक्षीहरुको व्यवस्थापन गर्न कठिनाइ देखिए पनि महामन्त्रीका उम्मेदवार टुंग्याउन भने खासै सकस देखिँदैन । उक्त समूहबाट महामन्त्रीको एक उम्मेदवार गगन थापा हुन् । पौडेल समूहबाट महामन्त्रीका लागि प्रवल सम्भावना बोकेका अर्का उम्मेदवार हुन्– रक्षामन्त्री डा. मिनेन्द्र रिजाल । यद्यपि पौडेल समूहबाट केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरङ र गुरुराज घिमिरे पनि महामन्त्रीका आकांक्षीका रुपमा देखिएका छन् ।

