सिजनको पहिलो एल क्लासिको आइतबार, कसले जित्ला ?

एजेन्सी – स्पेनिस ला लिगाको सिजन २०२१/२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ । एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार साँझ ८:०० बजे हुनेछ ।

नयाँ सिजनमा रियल म्याड्रिडले उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । बार्सिलोना भने आफ्नो पुरानो लयमा फर्कन सकेको छैन । लिगमा अहिले दुवै टोलीले आठ खेल सकेका छन् । रियलले बार्सिलोनालाई दुई अंकले पछि पारेको अवस्था छ । यस्तोमा बार्सिलोना घरेलु मैदानमा रियललाई हराएर अगाडी बढ्ने दाउमा छ । रियल पनि बार्सिलोनालाई घरमै हार चखाउन चाहन्छ ।

रियल पाँच जित, दुई बराबर र एक हार बेहोर्दै १७ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । चार जित, तीन बराबरी र एक हार खेपेको बार्सिलोना १५ अंक सहित सातौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल सोसिडाडको नौ खेलबाट २० अंक छ ।

चोटका कारण प्रमुख खेलाडीहरु मैदान बाहिर रहेकाले पनि बार्सिलोना सुरुवाती खेलमा समस्यामा परेको थियो । यता रियलले आठौं राउन्डमा एस्पान्योलसँग २–१ को हार खेप्नु बाहेक अन्य खेलमा सानदार प्रदर्शन गरिरहेको छ । रियलका कप्तान करिम बेन्जेमा यतिवेला करिअरकै उच्च लयमा देखिएका छन् । उनले लिगको सुरुवाती आठ खेलमा नौ गोल र सात असिस्ट दिएका छन् । सर्वाधिक गोलकर्ताको शीर्ष सुचीमा रहेका बेन्जेमालाई भिनिसियस जुनियरको उतिकै साथ छ । भिनिसियसले पनि पाँच गोल सहित दुई असिस्ट दिएका छन् ।

यता बार्सिलोनामा मेम्फिस डिपायले सानदार प्रदर्शन गरिरहेका छन् । यसै सिजन लियोनबाट बार्सिलोना आएका डिपाएले बार्सिलेनामा लियोनल मेस्सीको अभावलाई पूर्ति गरेका छन् । उनले आठ खेलमा चार गोल सहित दुई असिस्ट दिएका छन् ।

बार्सिलोनाले एल क्लासिको भिडन्तमा अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरो र औसमाने डेम्वेलेलाई समेत उतार्ने तयारी गरेको छ । यसअघि यी दुई स्टार घाइते थिए । यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका एग्युरो सुरुवातमै अभ्यासको क्रममा घाइते भएका थिए ।

रियल र बार्सिलोनाबीचको पछिल्लो २९ खेलमा बार्सिलोना १६ खेलमा विजयी भएको छ । रियलले १३ खेल जितेको छ, भने १० खेल बराबरीमा सकिएको छ । रियल पछिल्लो पटक सन् २०१९ को मार्चमा घरेलु मैदानमा १–० ले पराजित भएको थियो । त्यसयता पछिल्लो चार खेलमा रियल बार्सिलोनासँग अपराजित छ । पछिल्ला चार भिडन्तमा रियलले तीन खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।

ला लिगाको एल क्लासिकोमा हालसम्म यी दुई टोलीबीच एक सय ८२ खेल भएको छ । जसमा रियलले ७५ खेल जितेको छ । बार्सिलोनाले ७२ खेल जितेको छ । ३५ खेल बराबरीमा सकिएको छ । सबै खाले एल क्लासिको भिडन्तमा यी दुई टोलीबीच कूल दुई सय ४६ आधिकारिक खेल भएका छन् । जसमा रियलले ९८ खेल जितेको छ । बार्सिलोनाले ९६ खेल आफ्नो पक्षमा पारेको छ । ५२ खेल बराबरीमा सकिएको छ ।

सबै खाले एल क्लासिको खेलमा रियलले ४१० गोल गरेको छ भने बार्सिलोनाले ४०१ गोल गरेको छ । रियल र बार्सिलोनाबीचको आइतबार हुने खेल दुई सय ४७औं आधिकारिक एल क्लासिको भिडन्त हुनेछ । यसमा कस्ले बाजी मार्ला भन्ने चासो र कौतुहलता विश्वभरका फुटबल समर्थकमा छ ।

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८१२:१४

साउदीको तेलले बार्सिलोनालाई पनि दुख दिने भयो, कडा झड्का दिने तयारी !