फुटबल खेल्न नेपाल आएका विकासको गोप्य उद्देश्य, उचित समयमा सार्वजनिक गर्ने !

काठमाडौं । युरोपियन च्याम्पियन इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लियाले फुटबल खेल्नकै लागि नेपाल आएको बताएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि च्यासल युथ क्लबमा अनुबन्धित भएपछि बोल्दै विकासले आफू फुटबल खेल्नका लागि नेपाल आएको बताएका हुन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

‘म खासगरी फुटबल खेल्नकै लागि यहाँ आएको हुँ । तर, मेरो व्यक्तिगत एउटा उद्देश्य पनि छ, जुन मैले अहिले सार्वजनिक गर्न सक्दिनँ । उचित समय हेर्ने छु र सबै कुरा भन्ने छु ।’ च्यासलमा अनुबन्ध भएपछि उनले भने, नेपाल आउन पाउँदा खुसी छु । नेपालका लागि केही गर्नुपर्ने भन्ने लागेको छ । यस अवसरका लागि म धेरै खुसी छु । म नेपालमा बसेर के गर्छु भनेर निर्णय लिइसकेको छैन । म बल्ल १३ वर्षपछि नेपाल आउँदै छु, यहाँको वातावरण हेरेर म विचार गर्ने छु ।’ विकासले नेपालको राष्ट्रिय टोलीबाट खेल्नेबारे भने अहिले केही सोचेका छैनन् । ‘मैले त्यसबारे केही सोचेको छैन । अहिले क्लबमा आबद्ध छु ।

यसमा ध्यान दिएको छु । भविष्यमा त्यस्तो अवसर आउँछ भने पक्कै सोच्ने छु ।’ उनले इटाली मलाई मनपर्छ, त्यहाँको संस्कृति, खाना, वातावरण र प्रकृति निकै मनपर्छ तर पनि मेरो मनमा नेपालबारे केही गर्नुपर्छ भन्ने छ । म १३ वर्ष अघि नेपाललाई मुटुमा लिएर गएको थिएँ र मेरो के सपना थिए, म कसरी नेपाल जान सक्छु भन्ने सम्झन्थें । तर यो सपना १३ वर्षपछि पूरा भएको छ र आउन पाउँदा खुसी छु ।’ विकासले नेपाली फुटबल आफूलाई राम्रो लागेको समेत बताए । ‘पहिले मलाई नेपाली फुटबल लिग कहाँ हेर्ने र के हेर्ने भन्ने ठ्याकै थाहा थिएन तर अहिले मैले नेपालको खेलको भिडियो हेरेको थिएँ र मलाई राम्रै लागेको छ ।’ उनले थपे, ‘मलाई खुसी लागेको छ टिमको सबै जना फ्रेन्डली र हेल्पफुल छन् । आज पनि मैले एउटा खेल खेलेको थिएँ र सबै जना एक अर्कालाई सहयोग गर्ने खालका छन् । खेलको स्तर मलाई राम्रो लाग्यो ।’

१३ वर्षपछि जन्मभूमि फर्किएका नेपाली मूलका विकास मेराग्लिया ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबमा अनुबन्धित भएका छन् । इटालीबाट १३ वर्षपछि नेपाल फर्किएका १९ वर्षीय विकासलाई च्यासलले आसन्न लिगका लागि अनुबन्ध गरेको हो । विकास शुक्रबार औपचारिक रूपमा च्यासलमा आवद्ध भएका छन् ।

उनले १० नम्बरको जर्सी लगाउने छन् । नेपाली मूलका इटालियन खेलाडी विकासलाई च्यासलले विदेशी खेलाडीको कोटामा अनुबन्धन गरेको जनाएको छ । खेलाडी सर्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश व्यञ्जनकार र विकासले सम्झौतापत्रमा हस्ताक्षण गरेका छन् ।

सम्झौता १ वर्षको हुने छ । इटालीमा व्यावसायिक फुटबल खेलिरहेका विकासले इटालीको यू–१६ राष्ट्रिय टोलीबाट समेत खेलिसकेको बताइएको छ । ‘ए’ डिभिजन लिग खेल्नका लागि उनी यसै साता जन्मभूमि फर्केका थिए ।

उनी सन् २००८ मा ६ वर्षको उमेरमा इटाली गएयता पहिलोपटक स्वदेश फर्केका हुन् । विकासले इटालीको चर्चित क्लबमध्येको एक एटलान्टा र भेनेजियाकोको जुनियर टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेको जनाएको छ ।

च्यासलका अध्यक्ष व्यञ्जनकारले विकासलाई आफ्नो क्लबबाट लिग खेलाउन पाउँदा खुसी लागेको बताएका छन् । च्यासल तेस्रोपटक ‘ए’ डिभिजन लिग खेल्ने तयारीमा छ ।

प्रकाशित : शनिबार, कार्तिक ०६, २०७८०८:२१

संकटको घेरामा किन परे प्रधानन्यायाधीश ?