“म हार्न चाहन्न, बराबरी खेल्नु पनि मेरा लागि हार नै हो”

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पोर्चुगिक स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ती खेलाडीहरुको सूचीमा पर्छन्, जो हार मन पराउँदैनन्। जहिले पनि रोनाल्डोको प्राथमिकता जित्नेमा हुन्छ। रोनाल्डो कुनै पनि हालतमा हारलाई स्विकार्न सक्दैनन्। जित्ने भोक र मिहिनेत गर्ने भएकै कारण रोनाल्डो आजको विश्वकै उत्कृष्ट खेलाडीको रुपमा छन्।

रोनाल्डो हारलाई मात्र होइन बराबरीलाई पनि सहज रुपमा लिँदैनन्। बराबरीलाई पनि हारकै रुपमा उनी लिन्छन्। बराबरीले पनि आफू सन्तुष्ट हुन नसक्ने कुरा रोनाल्डो आफैंले बताएका हुन्। एक मिडियालाई विस्तृत अन्तर्वार्ता दिनेक्रममा रोनाल्डोले बराबरीलाई पनि आफूले हारकै रुपमा लिने बताए।

केहि समय अगाडी प्रिमियर लिग अन्तर्गत युनाइटेडले एभर्टन विरुद्ध १-१ को बराबरी खेलेको थियो। खेल सकिएपछि रोनाल्डो खुशी देखिँदैनथे। खेलपछि रोनाल्डोले जस्तो हाउभाउ देखाइरहेका थिए, त्यसले उनलाई आलोचित समेत बनाएको थियो। बेलायती मिडिया स्काई स्पोर्ट्ससंग बोल्दै रोनाल्डोले घरेलु मैदानमा बराबरी खेल्नु आफ्ना लागि हार भएको बताए।

“मलाई हार मन पर्दैन। घरेलु मैदानमा बराबरी खेल्नु हार जस्तै हो। एभर्टनलाई मेरो सम्पूर्ण सम्मान छ। सायद मेरो सोचाई गलत होला, तर मेरो लागि बराबरी हार नै हो।”,रोनाल्डोले भने।

हारलाई स्विकार गर्न नसक्ने भएकै कारण आफू जित्न प्रेरित हुने गरेको रोनाल्डो बताउँछन्। जित नै आफ्नो प्राथमिकतामा रहने रोनाल्डोको भनाई छ। उनले भने,”यसैबाट म प्रेरित हुन्छु, यसैले मलाई जित्न प्रेरित गर्छ।”

रोनाल्डोले खेलको नतिजामा आफ्नो प्रतिक्रिया भर पर्ने पनि बताए। खेलपछि खेलको नतिजा जस्तो हुन्छ त्यस्तै प्रतिक्रिया आफूले जनाउने उनको भनाई छ। खेलमा शतप्रतिशत लगाउने भएका कारण जित आफ्नो प्राथमिकतामा रहने रोनाल्डोले बताए।

प्रकाशित : शनिबार, कार्तिक ०६, २०७८१४:५५

रिस,डाहा र आलोचना गर्नेहरुलाई रोनाल्डोको कडा झाप्पड, जितेर देखाइदिने प्रण !