अन्ततः बानेश्वरको आकाशे पुलः सञ्चालनमा !

काठमाडौँ – निर्धारित समय सीमाभन्दा झण्डै दुईपछि राजधानीको व्यस्त सहर बानेश्वरमा स्काई ट्रस ब्रिज (आकाशे पुल) तयार भएको छ। ठेकेदार कम्पनीको ढिलासुस्ती र कोभिड–१९ का कारण तोकिएको समयभन्दा झण्डै दुई वर्ष ढिलो गरी पुल सञ्चालनमा आएको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

पुल सञ्चालनमा आएसँगै बानेश्वर चोकमा बाटो काट्न सर्वसाधारणलाई सहज भएको छ। अचेल पैदल यात्रु भर्खरै तयार भएको आकाशे पुलबाट ओहोरदोहोर गर्न थालेका छन्। बानेश्वर चोकमा यात्रुले जभाभावी बाटो काट्न छाडेपछि सवारी साधन पनि निर्वाध रूपमा आवातजावत गर्न पाएका छन्। ठेक्का सम्झौता अनुसार बानेश्वर र कोटेश्वर चोकको व्यस्त सडकमा २०७६ पुस मसान्तभित्रै आकाशे पुल बनिसक्नुपर्ने थियो।

२०७५ चैतमा बानेश्वर र कोटेश्वर चोकमा पुल निर्माण गर्ने ठेक्का पवन–प्रकृति जेभीले पाएको थियो। बानेश्वर चोकको ठेक्का सम्झौता दुई करोड चार लाख रूपैयाँमा भएको थियो। उक्त पुलको लम्बाइ ३८ मिटर छ।

काठमाडौं महानगरपालिका, सहरी योजना आयोगले दुई वर्षअघि गरेको सर्भेले बानेश्वर चोकमा बिहानको पिक आवरमा पाँच हजार आठ सय ६२ पैदल यात्रुले बाटो वारपार गरेको देखाएको थियो।

बेलुकको पिक आवरमा ६ हजार चार सय ७४ जनाले बानेश्वर चोकबाट बाटो वारपार गर्ने आयोगको अध्ययनले देखाएको थियो। तर दुई वर्षअघिको तुलनामा उपत्यकामा जनसंख्या बढेसँगै बानेश्वरको जेब्राक्रसबाट बाटो काट्ने यात्रुको संख्या पनि बढेको अनुमान गर्न सकिन्छ। सडक डिभिजन कार्यालय काठमाडौंले औपचारिक रूपमा पुल सञ्चालनमा नल्याए पनि सर्वसाधारणले दसैंअघिदेखि पुल प्रयोग गर्दै आएका छन्।

डिभिजन सडक कार्यालय काठमाडौंबाट भर्खरै सरुवा भएर गएका तत्कालीन प्रमुख कुबेर नेपालीले दसैंअगावै बानेश्वरको स्काई ट्रस ब्रिज सञ्चालनमा आएको बताए। ‘ठेकेदार कम्पनीको ढिलासुस्ती र कोभिड–१९ को कारणले तोकिएको समयभन्दा झण्डै दुई वर्ष ढिलो गरी पुल तयार भयो,’ उनले भने, ‘एकातर्फ पुलको डिजाइन परिवर्तन अर्काेतर्फ स्ट्रिल उद्योगमा कार्यरत कामदारमा समेत कोभिड देखिँदा पुल निर्माणमा समस्या देखिएको हो।’

काठमाडौं सडक डिभिजन कार्यालयमा भर्खरै पदभार सम्हालेका कार्यालय प्रमुख नारायण निउरेले बानेश्वरको स्काई ट्रस ब्रिजको सामान्य काम मात्रै बाँकी रहेको बताए। ‘पुलको औपचारिक उद्घाटन गर्ने काम त बाँकी नै छ। तैपनि सर्वसाधारणले प्रयोग गर्न थालिसकेका छन्,’ उनले भने, ‘पुलको पेन्टिङ र अन्य सामान्य काम अझै बाँकी छ। केही दिनभित्रै टुंग्याउनेछौं।’

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८०७:५७

एक्सनमा प्रहरी हेडक्वार्टर र सशस्त्र प्रहरी हेडक्वार्टर , तीन जिल्ला प्रमुख कारवाहीमा !