एजेन्सी – म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अहिले एउटा ‘मिसन’मा छन्। उनको मिसन हो प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने। रोनाल्डोले विभिन्न अवसरहरुमा आफू म्यानचेस्टर युनाइटेड जानुको मुख्य योजना बारे बोलिसकेका छन्।
युनाइटेडमा रोनाल्डो आउनुको पछाडी उनको उद्देश्य स्पष्ट छ। हालसालै रोनाल्डोले आफू ट्रफी जित्नको लागि युनाइटेड आएको बताएका थिए। ट्रफी जितेर आफ्नो आलोचना गर्नेहरुको मुख बन्द गरिदिने रोनाल्डोको भनाई थियो।
रोनाल्डोले युनाइटेडलाई कहाँ सम्म डोर्याउँछन्, त्यो त समयले नै बताउला। तर एस्टन भिल्लाका पूर्व स्ट्राइकर गेब्रियल एग्बोनलाहोर भने रोनाल्डोकको उपस्थितले मात्रै युनाइटेडले प्रिमियर लिग र च्याम्पियन्स लिग जित्छ भन्ने मान्दैनन्। उनका अनुसार रोनाल्डोले प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै जित्न सक्दैनन्।
एक अन्तर्वार्ताका क्रममा एग्बोनलाहोरले रोनाल्डोका कारण युनाइटेडमा समस्या पैदा हुने बताए। ब्रुनो फर्नान्डेज र रोनाल्डो बीचको सम्बन्धले पूरा युनाइटेड टीममा समस्या र असमानता पैदा हुने उनको शंका छ।
“रोनाल्डोले सोचेजस्तो सजिलो छैन। उनले सबैलाई प्रभावित पार्न सकने देखिँदैन। म्यानचेस्टर युनाइटेडले रोनाल्डोको साथका कारण सबै जित्छ जस्तो लाग्दैन। युनाइटेडले न त प्रिमियर लिग जित्छ, न त च्याम्पियन्स लिग नै”,एग्बोनलाहोरले भने।
एग्बोनलाहोरले प्रिमियर लिगमा लेस्टर सिटी विरुद्धको खेलमा रोनाल्डोको प्रदर्शन धेरै कम्जोर रहेको पनि बताए। उनका अनुसार रोनाल्डोले लेस्टर विरुद्ध धेरै नै खराब खेले। रोनाल्डोले उक्त खेलमा खासै प्रभाव पार्न नसकेको उनको भनाई छ।
एग्बोनलाहोरले भने,”उनी सायद लेस्टर विरुद्धको पिचमा सबैभन्दा खराब खेलाडी थिए। न त उनले धेरै दौडिएको देखियो, न त उनले खलेमा प्रेस गर्न नै सके। उनले खेलमा खेलमा कुनै प्रभाव पार्न नै सकेनन्।”
फर्नान्डेजले बल पाएपछि हरेक पटक रोनाल्डोलाई मात्र पास दिन खोजेको र त्यसले समस्या पैदा गर्न सक्ने पनि एग्बोनलाहोरले बताए। फर्नान्डेजले रोनाल्डोलाई मात्र बढी महत्व दिंदै टीममा विचलन पैदा हुन सक्ने एग्बोनलाहोरको भनाई छ।