विश्व खेलकुदमा आज ५ महाभिडन्त ! कुन-कुन खेल, कति बजे ? हेर्नुहोस् !

एजेन्सी – विश्व खेलकुदमा आइतबार ५ महाभिडन्त हुँदैछन्, जसलाई विश्वभरका दर्शकहरु चासोका साथ हेर्नेछन् । युरोपियन चार अलग लिगमा हुने खेल र क्रिकेटमा एक त्यस्तो खेल हुँदैछ जसमा प्रतिस्पर्धा मात्र नभई समर्थकबीचको प्रतिद्वन्द्विता पनि मज्जाले झल्कनेछ ।

एल क्लासिकोको नामले परिचित स्पेनिस ला लिगामा आज बार्सिलोना र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । डेढ दशकभन्दा लामो समयपछि लिओन मेस्सी विना बार्सिलोना एल क्लासिकोमा उत्रदैछ । त्यस्तै प्रिमियर लिगमा लिभरपुल र म्यानचेष्टर युनाइटेड, लिग वानमा पिएसजी र मार्से तथा इटालियन सिरि एमा इन्टर र युभेन्ट्सले एक अर्काको सामना गर्नेछन् । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई देशकै प्रतिस्पर्धाको रुपमा हेरिनेछ । झन्डै पाँच वर्षपछि यि दुई टोलीबीच पनि आजै प्रतिस्पर्धा हुँदैछ ।

भारतविरुद्ध पाकिस्तान

संयुक्त अरब इमिरेट्स (युइए) र ओमानमा जारी आइसिसी टि ट्वान्टीको सुपर १२ मा चिरप्रतिद्वन्द्वि भारत र पाकिस्ताबीच खेल हुँदैछ । जारी विश्व कपमा दुवै टोलीको यो पहिलो खेल हो । पछिल्लो विश्व कपमा पनि यि दुई टोलीबीच प्रतिस्पर्धा हुँदा भारत ६ विकेटले विजयी भएको थियो । शनिबारको खेल नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुनेछ ।

एल क्लासिको

बार्सिलोनाले कमजोर ढंगमा सिजनको सुरुवात गरेको छ । त्यसअर्थ टोली दबाबमा हुनेछ । यद्दपी टोली विस्तारै सुधारिएको प्रदर्शन गरेको छ । च्याम्पियन्स लिगको समूह चरणका दुई खेल गुमाएको बार्सिलोनाले गत साता पहिलो जित दर्ता गराएको थियो । उता रियल भने उच्च फर्ममा छ । सिजनको पहिलो एल क्लासिको खेल्नुअघि रियल १७ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने बार्सिलोना १५ अंक जोड्दै सातौं स्थानमा छ । खेल नेपाली समय अनुसार राती ८ः०० बजे सुरु हुनेछ ।

युनाइटेडविरुद्ध लिभरपुल

युनाइटेड र लिभरपुलबीचको खेल नेपाली समय राती ९ः१५ बजे ओल्ड ट्राफडमा सुरु हुनेछ । लिभरपुल फर्ममा छ भने युनाइटेडमाथि विस्तारै दबाब बढ्दै गएको छ । क्रिस्टियानो रोनाल्डोको पूनरागमनपछि उत्साहित युनाइटेडले दमदार सुरुवात गरेपनि त्यसलाई निरन्तरता भने दिन सकेको छैन । १८ अंकका साथ लिभरपुल तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड १४ अंकसहित छैटौं स्थानमा छ । शीर्षताको दौडमा फर्कनका लागि युनाइटेडलाई आजको खेल जित्नु पर्ने हुनेछ ।

मार्सेविरुद्ध पिएसजी

नेयमार र केलियन एमबाप्पे जस्ता सुपर स्टार रहेको पिएसजीमा यो सिजन मेस्सी पुगेपछि टोली थप मजबुद भएको विश्वास गरिन्छ । सुरुवाती खेलमा औसत प्रदर्शन गरेको मेस्सी विस्तारै लयमा देखिन थालेका छन् । एमबाप्पेले लिग वानमा उच्च प्रदर्शन गरिरहेको छ । २७ अंकका साथ पिएसजी शीर्षस्थानमा छ भने १७ अंक जोडेको मार्से तेस्रो स्थानमा छ । अंक दूरीलाई घटाउनका लागि मार्सेले पिएसजीलाई हराउनुपर्ने हुन्छ । खेल नेपाली समय अनुसार राती १२ः३० बजे सुरु हुनेछ ।

इन्टरविरुद्ध युभेन्ट्स

साविक विजेता समेत रहेको इन्टरको प्रदर्शन ठिकै रहेपनि रोनाल्डोले युभेन्ट्स छाडेयता टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन । च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा निकालिरहेको युभेन्ट्स सिरि एको अंक तालिकामा भने १४ अंकसहित सातौं स्थानमा रहेको छ । इन्टर भने १७ अंकसहित तेस्रो स्थानमा रहेको छ । इन्टरको मैदानमा खेल नेपाली समय अनुसार राती १२ः३० बजे सुरु हुनेछ ।

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१२:१०

युरोपियन टोलीको तेल निकाल्न नेसन्स लिगमा ब्राजिल र अर्जेन्टिना पनि आउने !