प्रिमियर लिगका चिर-परिचित प्रतिद्वन्दी क्लब म्याँच म्यानचेस्टर युनाइटेड र लिभरपुल आइतबार एकअर्काको सामना गर्दैछन्। प्रिमियर लिग दौडमा रहेका दुवै क्लब बीचको खेल आइतबार नेपाली समय अनुसार रातको ९ बजेर १५ मिनेटमा शुरु हुनेछ।
उच्च लयमा रहेका मोहम्मद सलाह लिभरपुलका मूख्य आकर्षण हुन् भने युनाइटेडका क्रिस्टियानो रोनाल्डो माथि सबैको नजर रहनेछ। प्रिमियर लिगमा सलाह र रोनाल्डो बीच प्रिमियर लिगको शिर्ष गोलकर्ताका लागि स्पष्ट प्रतिष्पर्धा हुने छनक देखिसकेको छ। यस्तो अवस्थामा दुवैले एक-अर्काको सामना गर्दैछन्। दुवै खेलाडी आइतबार गोल गर्ने दाउमा हुनेछन्।
उच्च लयमा सलाह
सलाह गएको चार सिजन देखि लिभरपुलको लागि मूख्य गोलकार्य रहँदै आएका छन्। नयाँ सिजन शुरु भएपछि सलाह गएको सिजनहरु भन्दा अझ बढी आक्रामक देखिएका छन्। नयाँ सिजनमा ११ खेल खेल्दा उनले १२ गोल गरेका छन्। सलाहले प्रिमियर लिगका ८ खेलमा ७ गोल तथा च्याम्पियन्स लिगमा ३ खेल खेल्दा ५ गोल गरेका हुन्।
लिभरपुलका लागि सलाहले लगातार ९ खेलमा गोल गर्न सफल भएका छन्। प्रिमियर लिगमा सलाहले म्यानचेस्टर सिटी र वार्टफोर्ट विरुद्ध विश्व स्तरीय गोल गरेका थिए। डिफेन्समा झन्डै आधा दर्जन भन्दा बढी खेलाडी रहेको अवस्थामा गोल गरेर सलाहले सबैलाई चकित पारेका थिए।
कम छैनन् रोनाल्डो पनि
गएको डेढ दशक भन्दा बढी समय देखि फुटबलमा राज गरिरहेका रोनाल्डोमा ३६ वर्षको उमेरमा पनि उत्तिकै जोश देखिन्छ। यसै सिजन युभेन्टसबाट युनाइटेड आएका रोनाल्डोले युनाइटेडका लागि ६ गोल गरिसकेका छन्। रोनाल्डोले ५ प्रिमियर लिग खेल्दा ३ गोल तथा ३ च्याम्पियन्स लिग खेल खेल्दा ३ गोल गरेका हुन्। रोनाल्डोले च्याम्पियन्स लिगमा एटलान्टा विरुद्धको खेलमा उत्कृष्ट निर्णायक गोल गरेका थिए। प्रिमियर लिगमा सलाह र रोनाल्डो पहिलो पटक आमनेसामने हुँदा दुवैको दाउ एक अर्कालाई पछि पर्ने हुनेछ।