‘बालोन डी’ओरको स्पष्ट हकदार मेस्सी, उनको प्रतिद्वन्द्वी कोहि पनि छैन’

एजेन्सी – एक स्पेनिस मिडियाले गरेको सर्वेक्षणले यस वर्षको बालोन डी’ओर लियोनेल मेस्सीले जित्ने देखाएको छ। स्पेनिस मिडिया मार्काले गरेको एक सर्वेक्षणमा सहभागी धेरैले यस वर्षको बालोन डी’ओर मेस्सीले जित्नुपर्ने बताएका हुन्।

मार्काले गरेको सर्वेक्षणमा सहभागी ३४ प्रतिशतले मेस्सीले बालोन डी’ओर जित्नुपर्ने पक्षमा देखिएका छन् भने २६ प्रतिशत सहभागी करिम बेन्जेमाले जित्नुपर्ने पक्षमा देखिएका छन्। त्यस्तै ११ प्रतिशत सहभागी भने रोबर्ट लेवान्डोस्कीको पक्षमा देखिएका छन्।

सर्वेक्षणको नतिजा प्रकाशित गर्दै मार्काले बालोन डी’ओरमा मेस्सी मूख्य हकदार रहेको बताएको छ। मार्काले गरेको दावी अनुसार बालोन डी’ओरमा मेस्सीको प्रतिद्वन्द्वी कोहि पनि छैन। गत सिजन ला लिगाको शिर्ष गोल कर्ता बनेका मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिका दिलाएका थिए।

सुआरेज के भन्छन् ?

मेस्सीका सबै भन्दा नजिकका साथि लुइस सुआरेजका अनुसार बालोन डी’ओर दिँदा एक वर्षको प्रदर्शनलाई मात्र हेरिनु हुँदैन। को खेलाडी कस्तो छ भन्ने कुरालाई पनि मध्यनजर गरिनुपर्ने सुआरेज बताउँछन्। त्यसो भनिरहँदा सुआरेज मेस्सीको प्रतिद्वन्द्वी नरहेको पनि बताउँछन्।

“बालोन डी’ओरक लागि एक खेलाडीले वर्षमा कस्तो खेलेको छ भने पनि उ कस्तो खेलाडी हो भन्ने हेरिनुपर्छ।”,उनी भन्छन्,”मेस्सीको प्रतिद्वन्द्वी कोहि पनि छैन।”

यस वर्षको बालोन डी’ओर मनोनयन सार्वजनिक भैसकेको छ। केहि हप्ता अगाडी सार्वजनिक भएको मनोनयनमा ३० खेलाडीको नाम अटाएको छ। मनोनयनमा लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, नेयमार, किलियन एम्बाप्पे, करिम बेन्जेमा, मोहम्मद सलाह, एङ्गोलो कान्टे, जर्गिन्हो जस्ता खेलाडीहरुको नाम परेको छ। यस पटकको बालोन डी’ओरमा मेस्सी, बेन्जेमा, एनगोलो कान्टे, जोर्गिन्हो, रोबर्ट लेवान्डोस्की जस्ता खेलाडी दाबेदारको रुपमा देखिएका छन्।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८१२:२५

मेस्सी र स्वारेज पुन: एकसाथ एकै क्लबमा खेल्ने ?