एजेन्सी – आइतबार म्यानचेस्टर युनाइटेड र क्रिस्टियानो रोनाल्डो दुवैका लागि राम्रो रहेन। लिभरपुल घरेलु मैदानमै हावी बन्दा रोनाल्डो र युनाइटेड दुवै निरश हुन पुगे। लिभरपुलको डिफेन्स सामू रोनाल्डोको जादू खासै चलेन।
यदाकदा लिभरपुलको डिफेन्सलाई छक्याएर अगाडी बढ्न सकेपनि रोनाल्डोको प्रदर्शन त्यस्तो प्रभावशालि रहेन। लिभरपुलको डिफेन्स र मिडफिल्डले अगाडी बढ्न नदिँदा रोनाल्डो निराश मात्र होइन रिसाएका समेत थिए। रोनाल्डोको अनुहार निराशा देखिन्थ्यो भने उनको व्यवहारमा क्रोध।
रेड कार्ड पाउनबाट बचे रोनाल्डो
पहिलोको हाफमै युनाइटेड ३-० ले पछि परेको अवस्था थियो। थप गरिएको समयमा रोनाल्डोले पाउन लागेको बललाई लिभरपुलका मिडफिल्डर कर्टिस जोन्सले रोनाल्डोको खुट्टामा पर्न दिएनन्। बललाई ढाकेर जोन्सले अगाडी बढाउँदै थिए। त्यतिकैमा रोनाल्डोले जोन्सलाई फल गर्न पुगे।
रोनाल्डोका कारण जोन्स जमिनमा बजारिन पुगे। त्यसबेला रोनाल्डो यति रिसाइसकेका थिए कि उनले रेफ्रीले सिठ्ठी बजेको पनि नसुनेझैं गरे। रिसले उनले जोन्समा अड्किएको बललाई उनले बल पूर्वक प्रहार गरे।
रोनाल्डोको यस्तो हर्कतका कारण खेल केहि समय तनावपूर्ण पनि बन्यो। लिभरपुलका खेलाडीहरु र युनाइटेडका खेलाडी बीच धकेलाधकेल पनि भयो। रेफ्रीले रोनाल्डोलाई पहेंलो कार्ड देखाए। धेरैले रोनाल्डोलाई रातो कार्ड दिइने अपेक्षा गरेका थिए। भिएआर हेरेपछि पनि रेफ्रीले पहेंलो कार्डलाई नै कायम राखे।
रोनाल्डोको उक्त कदमलाई लिएर सामाजिक संजालमा उनको चर्को आलोचना भएको छ। धेरैले घमण्डी भन्दै रोनाल्डोको आलोचना गरेका छन्। त्यसबेला रोनाल्डोले रातो कार्ड पाउनुपर्ने धेरैको बुझाई छ।
https://twitter.com/bigpapisruji/status/1452322353359335425

