एजेन्सी – बार्सिलोना लेजेण्ड अल्बर्ट फेररले किलियन एम्बाप्पे र एर्लिङ हालाण्ड जस्ता खेलाडी बार्सिलोनाका लागि ठिक नहुने बताएका छन्। एक अन्तर्वार्ताका क्रममा अल्बर्ट फेररले एम्बाप्पे र हालाण्ड बार्सिलोनाको खेल्ने शैलीमा ‘फिट’ हुन नसक्ने बताएका हुन्।
बार्सिलोनाले जुन शैलीको खेल खेल्छ त्यसको लागि एम्बाप्पे र हालाण्ड जस्ता खेलाडीले समस्या पैदा गर्न सक्ने फेररले बताए। बार्सिलोनाको खेल शैली दुवै खेलाडीका लागि सहज नहुने उनको भनाई छ।
“यथार्थपरक चीजहरु जित्नलाई बार्सिलोनामा सम्भवतः एक शीर्ष स्ट्राइकरको जरुरत छ। उनीहरु बलमा राम्रो पकड राख्न चाहन्छन्। ७० प्रतिशत सम्म बल पोजेसन राख्ने प्रयासमा उनीहरु हुन्छन्। जसकारण प्रतिद्वन्दीहरु पछाडी नै हुन्छन् र कम खालि ठाउँ रहन्छ।”,फेररले भने,”कम खालि ठाउँ हुँदा एम्बाप्पे र हालाण्ड जस्ता खेलाडीहरुलाई अफ्ठेरो हुन्छ। हालाण्ड र एम्बाप्पे बार्सिलोनाको खेल्ने शैलीमा फिट हुन गार्है हुन्छ। तर फिट हुनै सक्दैनन् त म भन्दिन।”
त्यस्तै फेररले हालको अवस्थामा पनि बार्सिलोनाले उपाधिका लागि चुनौती दिन सक्ने पनि बताए। धेरै जस्ता ठूला क्लबमा प्रति सिजन २० गोल सम्म गर्न सक्ने स्ट्राइकर रहेको उनको भनाई छ। तर बार्सिलोनामा त्यस्तो स्ट्राइकर नहुनाले समस्या भएको उनले बताए।
उनले भने,”मलाई अझै लाग्छ कि बार्सिलोनाले अहिले पनि ट्रफीका लागि चुनौती दिन सक्छ। तर उनीहरुसँग भरपर्दो स्ट्राइकर छैन। अरु क्लबहरुसँग एक सिजनमै २० गोल सम्म गर्न सकने स्ट्राइकरहरु छन्। त्यो कुरामा बार्सिलोना पछि छ।”