जब क्रिस्टियानो रोनाल्डोले ओल्ड ट्राफोर्ड फिर्ता हुनको लागि गत समरमा जुभेन्टससँग अलग हुने निर्णय गरे, उनले यो म्यानचेस्टर युनाइटेड टोलीले सिजनको सुरुवातमा नै राम्रो नतिजा निकाल्न संघर्ष गरिरहेको हुनेछ भन्ने परिदृश्यलाई विचार सायद नै गरेको हुनुपर्छ।

रेड डेभिल्सले सबै प्रतियोगितामा आफ्ना पछिल्ला सात खेलमध्ये दुई खेलमा मात्र जीत निकाल्न सफल भएको छ र हाल प्रिमियर लिग तालिकामा सातौं स्थानमा रहेको छ। क्लब च्याम्पियन्स लिगको समूहमा शीर्ष स्थानमा रहेको छ तर प्रतियोगिताका दुई जीतमा युनाइटेड दुबै खेलमा पछि परेको स्थितिलाई उल्ट्याउ पर्ने अवस्थामा रहेको थियो भने एक खेलमा पराजित भएको थियो।
ओले गुन्नार सोल्स्कजायरको पक्षको लागि सबैभन्दा खराब नतिजा एक महिना अघि आएको थियो जब डेभिड मोयेसको वेस्ट ह्यामले ओल्ड ट्राफोर्डमा नै युनाइटेडलाई १-० हराएर काराबाओ कपबाट बाहिर निकाल्यो। त्यसपछि, आइतबार घरेलु मैदानमा लिभरपुलसँग ५-० को लज्जास्पद हारसँगै स्थिति अझै खराब हुँदै गएको छ।

क्लबका लागि यसै सिजन अनुबन्ध भएका स्टार खेलाडी रोनाल्डो एक मात्र सकारात्मक खेलाडी रहेका छन् भन्दा फरक नपर्ला। १२ वर्षपछि पूर्व क्लबमा फर्किएका रोनाल्डोले आफ्नो सुरुवाती ९ खेलमा ६ गोल गरिसकेका छन्। तर उनलाई कुनै पनि अन्य खेलाडीले राम्रो साथ दिएका छैनन्।
गत सिजन क्लबको प्रमुख खेलाडी रहेका ब्रुनो फर्नान्डेज र पौल पोग्बाले सिजनको सुरुवात निकै उत्कृष्ट रूपमा गरेपनि हाल दुबै खेलाडी लयमा छैनन्। त्यस्तै, यसै सिजन युनाइटेड आएका पूर्व सिटी युवा स्टार जेडन सान्चो क्लबमा स्थापित नै हुन सकेका छैनन् भने डिफेन्डर रफाएल भारान चोटका कारण मैदान बाहिर रहेका छन्। मार्कस र्यासफर्ड भर्खरै मात्र चोटबाट फर्किएका छन् भने कप्तान ह्यारी मागुवाएरले थुप्रै गल्ती गरिरहेका छन्।

सिजनको सुरुवातमा उपाधिको दाबेदारको रूपमा हेरिएको म्यानचेस्टर युनाइटेडलाई अहिले भने धेरैले आफ्नो सूचीमा हटाइसकेका छन्। यस्तो अवस्थामा एउटा प्रश्न उठ्न थालेको छ। के रोनाल्डोले युनाइटेड आएर ठूलो गल्ती गरे ?

