काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बदर गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
ओलीले मंगलबार एमालेको पालिकास्तरको अधिवेशन उद्घाटनका क्रममा प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गत असार २८ गते परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन्।
मुलुकका ७५३ पालिकामा मंगलबार एमाले अधिवेशन सुरु भएको छ। भर्चुअल माध्यममार्फत केन्द्रीय कार्यालयबाट अधिवेशन उद्घाटन गरेपछि कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘अहिले न्यायपालिकामा तमासा देखिएको छ।
सर्वोच्च अदालतमा हजारौं मुद्दा टुंगिन सकेका छैनन्। श्रीमान् न्यायाधीशहरू कसले केके गरेका थिए, अहिले आफैंले उधिन्न थालेका छन्। सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले परमादेश जारी गरेका थिए।एकजना (प्रधानन्यायाधीश) को मात्रै किन राजीनामा माग्नु? पाँचै जनाले राजीनामा दिँदा उपयुक्त हुन्छ।’
ओलीले सर्वोच्च अदालतको उक्त परमादेशबाट देशमा तमासा भइरहेको बताए। ‘सर्वोच्चको परमादेशबाट अहिले सुगन्ध या दुर्गन्ध के फैलिएको हो, म केही पनि भन्दिनँ, अहिले अदालतलाई तमासाको थलो बनाइएको छ। न्यायपालिकालाई त्यस्तो बनाउनु हुँदैन,’ उनले भने।