प्रेमका लागि जापानी राजकुमारीले त्यागिन् राजकीय पद …

एजेन्सी – जापानकी राजकुमारी माकोले सर्वसाधारण युवकसँग विवाह गरेकी छन् । उनी विवादका बीच मंगलबार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । दरबारबाट बाहिरिनु अघि राजकुमारीले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाई अभिवादन गरेकी थिइन । त्यस्तै आफ्नी बहिनीलाई अँगालो हालेर बिदा भइन् ।

जापानको शाही परिवारसम्बन्धी नियमअनुसार सर्वसाधारणसँग विहे गरेसँगै उनकोे राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्बन्ध मंगलबारदेखि वैवाहिक सम्बन्धमा रूपान्तरण भएको हो । उनीहरूको मगनी गत सन् २०१७ मा भए पनि विवाहको मिति तय भएको थिएन ।

जापानका राजा नारुहितोकी ३० वर्षीया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकी हुन् । उनका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएका छन् ।

विवाहपछि राजकुमारी माको पनि अमेरिका जाने अनुमान गरिएको छ । उनीहरूकोे विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगदसमेत लिइनन् ।

यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग विवाह गर्न लागेको भन्दै उनीहरूको विवाहका बारेमा टीकाटिप्पणी हँुदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ ।

जापानको कानुनअनुसार जनतासँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर यही नियम पुरुष सदस्यको हकमा भने लागू हुँदैन । राजपरिवारका पुरुष सदस्यले समान्य नागरिकसँग विवाह गर्दा आफ्नो शाही हैसियत गुमाउन पर्दैन । जापानमा महिलासम्बन्धी विभेद राजदरबारभित्रै देखिन्छ । यसले आमनागरिकको अवस्थाका पनि झल्काउँछन् ।

राजकुमारी माको मंगलबार स्थानीय समयानुसार बिहान १० बजे टोक्योस्थित आफ्नो निवासबाट विवाह दर्ता गर्न बाहिर निस्किएकी थिइन् । माको र कोमुरोले मंगलबार नै नै एउटा पत्रकार सम्मेलन गरेका छन् ।

आफ्नो विवाहबाट कसैलाई कुनै असुविधा पुगेको भए त्यसप्रति माकोले क्षमायाचना गरेकी छन् । ‘उत्पन्न असुविधाप्रति म धेरै दुःखी छु अनि जसले मलाई सहयोग गरिरहे तीप्रति म कृतज्ञ छु,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘मेरा लागि केही अपरिवर्तनीय छन्, विवाह हाम्रा लागि आवश्यक छनोट थियो ।’

-सौर्य दैनिक

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८०८:१६

पाइला पाइलामा ठगिँदै छन्, उपभोक्ता