एजेन्सी – फुटबल जगतमा नयाँ ट्रियोको उदय भइरहेको चर्चा छ। स्पेनिस महारथी रियल म्याड्रिडले क्रमिक रुपमा आक्रामक ट्रियोको निर्माण गरिरहेको छ र त्यसले रियल म्याड्रिड समर्थकहरुलाई उत्साहित बनाइरहेको छ।
यसै सिजन रियल म्याड्रिड सम्हाल्न आइपुगेका कार्लो एन्सेलोटीले विभिन्न प्रयोग गरिरहेका छन् र उनी नयाँ आक्रामक ट्रियोको निर्माण गरिरहेका छन्। उनको योजनामा करिम बेन्जेमा, भिनिसियस जुनियर र रोड्रिगो छन्। एन्सेलोटीले गरेको यो पछिल्लो प्रयोग सफल हुने धेरैको अनुमान छ।
कुनै एक समयमा ग्यारेथ बेल, करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डोको ट्रियोको निर्माण गरेर तहल्का मच्चाउन सफल हुने अहिले त्यस्तै घातक ट्रियो निर्माण गर्न तर्फ लागेका छन्।
उनले आफ्नो आक्रमण ट्रियोमा कुन कुन खेलाडीहरुलाई राख्ने भनेर विभिन्न प्रयोग गरिरहेका छन्। तर पछिल्ला खेलहरुलाई हेर्ने हो भने उनी करिम बेन्जेमा, भिनिसियस जुनियर र रोड्रिगोको ट्रियोमा भर पर्ने देखिन्छ।
बेल र हाजार्ड आउट
सिजनको शुरुवातमा एन्सेलोटीको योजनामा बेल र हाजार्ड पर्ने देखिएपछि सिजन अगाडी बढ्दै गर्दा उनी दुई खेलाडीहरुको भर नपर्ने देखिन्छ। पटक-पटक चोटिल हुँदै आएका बेल र हाजार्डलाई एन्सेलोटीले कम विश्वास गर्ने अनुमान गर्न सकिन्छ।
त्यहि भएर होला सायद एन्सेलोटी करिम बेन्जेमा, भिनिसियस जुनियर र रोड्रिगोको विकासमा केन्द्रित देखिन्छन्। एन्सेलोटी दुई युवा खेलाडी र एक अनुभवी खेलाडी बीच राम्रो तालमेल मिलाएर अगाडी बढ्न चाहन्छन्।
कहिले घाइते हुन्छन् र कहिले फर्ममा आउँछन् भन्ने पक्का नभएका बेल र हाजार्डलाई दिर्घकालिन योजनामा समावेश गराउने भन्दा पनि टिकेर खेल्न सक्ने भिनिसियस र रोड्रिगोलाई बढी मौका दिएको खण्डमा रियल अगाडी बढ्न सक्ने उनले राम्रोसँग बुझेका छन्। उनले सोचेअनुसार करिम बेन्जेमा, भिनिसियस जुनियर र रोड्रिगोको ट्रियो कति सम्म सफल हुन्छ भन्ने चाहिँ समयले नै बताउनेछ।