मुख्यमन्त्रीबाट शाक्यको आजै राजीनामा !

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। विश्वासको मत प्राप्त गर्ने आधार नरहेपछि शाक्यले राजीनामा दिने भएकी हुन्।

प्रदेश सभामा बुधवार विश्वासको मत लिने तयारीमा रहेकी शाक्यले राजीनामा दिन लागेको नेकपा एमाले प्रदेशसभा सचेतक दिपक निरौलाले बताए। बताएअनुसार उनले आजै राजीनामा दिने तयारी छ।

शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। त्यसदिन उनले आफू सरकारमा हुँदा भएका कार्यहरु बारे जानकारी गराएकी थिइन् भने अन्य पार्टीका प्रदेश सांसदहरुले उनी माथि विभिन्न प्रश्न उठाएका थिए।

आजको प्रदेशसभामा उत्तर दिएपछि उनले राजीनामाको घोषणा गर्ने बताइएको छ। प्रदेशसभालाई सम्बोधन गरेपश्चात उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामापत्र बुझाउने तयारी गरेकी छन्।

शाक्य नेकपा एमाले विभाजन हुनु भन्दा अगाडी मुख्यमन्त्री बनेकी थिइन्। उनी मुख्यमन्त्री बनेपछि एमाले विभाजन भएका कारण विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यात्मक अवस्था बनेको थियो।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८१४:०६

मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा