सङ्कटग्रस्त बार्सिलोनालाई कि क्लोप चाहियो, कि क्लोप जस्तै प्रशिक्षक चाहियो !

एजेन्सी – गर्विलो इतिहाँस बोकेको क्याटलान क्लब बार्सिलोना अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। लामो समय पछि क्लबमा विभिन्न ठूला परिवर्तन हुँदा बार्सिलोनामा विभिन्न समस्याहरु निम्तिन पुगेको छ। क्लबको सफलताको मूख्य खेलाडीको रुपमा रहेका लियोनेल मेस्सीले क्लब छाडेपछि बार्सिलोना झनै समस्यामा पारेको छ। त्यति मात्र होइन कोरोना भाइरस महामारीपछि आर्थिक रुपमा पनि बार्सिलोनाको समस्या बढेको छ।

हालको अवस्थामा बार्सिलोना नाम चलेका खेलाडीहरु किन्न सक्ने अवस्थामा समेत छैन। जसकारण बार्सिलोना आफूसँग भएका तथा फ्री ट्रान्सफरमा उपलब्ध खेलाडीहरुको भर पर्नुपर्ने अवस्थामा पुगेको छ। त्यति मात्र होइन बार्सिलोनामा एक अब्बल प्रशिक्षकको आवश्यकता पनि खड्किएको छ। नयाँ योजना र दर्शन भएको प्रशिक्षकलाई बार्सिलोना कुरिरहेको छ।

वर्तमान प्रशिक्षक रोनाल्ड कोम्यान माथि बार्सिलोना पूरा भर पर्न सकेको छैन। गएको केहि समय देखि कोम्यानलाई प्रतिस्थापन गर्ने प्रशिक्षकको खोजिमा बार्सिलोना छ। तर भने जस्तो प्रशिक्षक बार्सिलोनाले पाउन सकेको छैन। त्यसमा मुख्य कारण बार्सिलोनाको आर्थिक समस्या बनिरहेको छ। महँगा खेलाडी किन्न सक्ने अवस्थामा बार्सिलोना नभएका कारण धेरै प्रशिक्षकहरु बार्सिलोनासँग काम गर्न इच्छुक देखिँदैनन्।

स्पेनिस मिडिया ‘स्पोर्ट’का अनुसार बार्सिलोनालाई लिभरपुलका योर्गेन क्लोप जस्तो प्रशिक्षक चाहिएको छ। धेरै खर्च गर्ने भन्दा पनि भएका खेलाडीहरुमा सुधार ल्याएर अगाडी बढ्ने किसिमको प्रशिक्षक बार्सिलोनालाई चाहिएको र त्यस्तो क्षमता क्लोपमा मात्र भएको ‘स्पोर्ट’को दावी छ।

लिभरपुलको पछिल्लो सफलताको मूक्य शुत्रधार बनेका क्लोप जस्तो प्रशिक्षक पाउन सके बार्सिलोना पुनः पुरानो लयमा फर्किने र एक पटक पुनः उपाधिका लागि खेल्न सक्ने स्पोर्टले एक लेखमा उल्लेख गरेको छ।

क्लोपले लिभरपुलमा के गरे ?

क्लोप लिभरपुलसँग सन् २०१५ मा आवद्ध भएका थिए। त्यससमय च्याम्पियन्स लिगमा छनौट हुन समेत नसक्ने अवस्थामा पुगेको लिभरपुलमा उनले धेरै परिवर्तन ल्याए। मध्यमस्तरको क्लबलाई उनले पुनः उपाधिका लागि भिड्न सक्ने बनाए। लिभरपुलसँग सम्झौता गरेपछि क्लोपले ४ वर्ष भित्र लिभरपुललाई उपाधि दिलाउँछु भनेका थिए। जुन उनले पूरा पनि गरे।

क्लबमा भएका खेलाडीहरुबाट उच्च स्तरको खेल निकाल्न सक्ने उनले क्लबलाई सहि खेलाडीमा लगानी गर्न लगाए। जसकारण क्लोपको नेतृत्वमै लिभरपुलले च्याम्पियन्स लिग, युइएफए सुपर कप, क्लब विश्वकप र प्रिमियर लिग जित्यो। एक हिसाबले भन्नुपर्दा लिभरपुलले उनलाई जे गर्नको लागि ल्याएको थियो, त्यो उनले पूरा गरिसकेका छन्।

क्लोप लिभरपुलमा सातौं वर्ष बिताइरहेका छन्। लिभरपुलमा क्लोपको सम्झौता सन् २०२४ सम्मको लागि छ। त्यसअगाडी उनले लिभरपुल छाड्ने खासै सम्भावना देखिँदैन। लिभरपुल छाडेपछि उनी अन्य क्लबमा अनुबन्ध हुने भन्दा पनि जर्मनीको राष्ट्रिय फुटबल टोली सम्हाल्न लाग्ने दावी गरिन्छ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८१५:२८

अन्ततः नेपालमै रहन तयार भए अलमुताइरी !