एजेन्सी – फुटबलको नयाँ सिजन शुरु भएको लगभग ३ महिना भइसकेको छ। नयाँ सिजनको ९-१० खेल सकिसकेको अवस्थामा कुनै पनि लिगको विजेता तय हुने त कुरा भएन, तर पनि कुन-कुन क्लब उपाधि रेसमा अगाडी हुन्छन् भन्ने खाका भने देखा पर्न थालिसकेको छ।
युरोपका शिर्ष लिगहरुको माहोल अहिले तातिएको अवस्था छ। च्याम्पियन्स लिगको माहोल पनि उस्तै छ। च्याम्पियन्स लिगको पहिलो चरणका खेल सकिसकेका छन्। नयाँ सिजनको तीन महिना भन्दा पूरा हुँदै गर्दा विभिन्न खेलाडीहरु युरोपको शिर्ष खेलाडीको रुपमा देखा परेका छन्।
सन् २०२१ को बालोन डी’ओरको मनोनयन समेत सार्वजनिक भइसकेको छ। सन् २०२१ भर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरिएको हो। मनोनयनमा वर्षभर उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डहरु परेका छन्।
यस वर्ष फरवार्डहरुका लागि विशेष रह्यो। तथ्यंगत हिसाबमा कुरा गर्ने हो भने यस वर्ष अहिले सम्म गोलको मामलामा रोबर्ट लेवान्डोस्की सबै भन्दा अगाडी देखिएका छन्। लेवान्डोस्कीले यस वर्ष ४८ गोल गरिसकेका छन्। लेवान्डोस्कीले प्रत्येक खेलमा १ दशमलभ २६ गोल गरिरहेका छन्।
त्यस्तै यस वर्ष सबै भन्दा बढी गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा एर्लिङ हालाण्ड रहेका छन्। ३७ गोल गरिसकेका उनले प्रत्येक खेलमा १ गोल गरेका छन्। तेस्रो स्थानमा रहेका मेस्सीले ३१ गोल गरेका छन्। मेस्सीको गोल प्रति खेल अनुपातको कुरा गर्ने हो भने शुन्य दशमलभ ८६ रहेको छ।
ट्रान्सफर मार्केटका अनुसार गोल प्रति खेल अनुपातको मामलामा शिर्ष खेलाडी निम्न रहेका छन् –
१ रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख र पोल्याण्ड) – ४८ गोल, १.२६ गोल-प्रति-खेल
२ एर्लिङ हालाण्ड (बोरुसिया डर्टमुन्ड र नर्वे) – ३७ गोल, १ गोल-प्रति-खेल
३ लियोनेल मेस्सी (पेरिस सेन्ट जर्मेन र अर्जेन्टिना) – ३१ गोल, प्रति खेल ०.८६ गोल
४ करिम बेन्जेमा (रियल म्याड्रिड र फ्रान्स) – ३३ गोल, प्रति खेल ०.७७ गोल
५ मोहम्मद सलाह (लिभरपुल र इजिप्ट) – ३० गोल, प्रति खेल ०.७५ गोल
६ केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन र फ्रान्स) – ३४ गोल, प्रति खेल ०.७२ गोल
७ क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड र पोर्चुगल) – ३१ गोल, प्रति खेल ०.७० गोल
८ डुसान भ्लाहोभिक (फियोरेन्टिना र सर्बिया) – २४ गोल, प्रति खेल ०.६९ गोल
९ ह्यारी केन (टोटनह्याम हटस्पर र इङ्ल्यान्ड) – २८ गोल, प्रति खेल ०.६२ गोल
१० जेरार्ड मोरेनो (भिल्लारियल र स्पेन) – 25 गोल, 0.61 गोल-प्रति-खेल