काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एमाले पार्टीमा पाकेटमारको प्रवेश भएको बताएका छन्। बिहिबार कञ्चनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आलेले नेकपा एमालेभित्र पकेटमारले प्रवेश पाएको बताएका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध आक्रामक रुपमा खनिएका आलेले एउटा पकेटमारका कारणले कम्युनिष्ट आन्दोलन धराशायी अवस्था पुगेको बताए। माधव नेपालले निर्माण गरेको नेकपा एमाले पार्टीमा पाकेटमारको प्रवेश भएको उनको भनाई छ।
“माधव कमरेडले जीवनभर पसिना बगाएर बनाएको घरमा एउटा पकेटमार छिर्यो। पकेट मारले ट्याक्क कैँचीले काटेर घर मालिकको लालपुर्जा लिएर टाप कस्यो।”,ओली प्रति लक्षित गर्दै आलेले भने,”एउटा पकेटमारका कारणले कम्युनिष्ट आन्दोलन धराशायी अवस्थामा पुगेको छ।”
नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका आलेले केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुर्याउने दावी समेत गरे। त्यसो भएपछि ओलीको गिनीज बुकमा लेखिने कटाक्ष आलेले गरे।
“केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुर् याउँछौं। त्यसपछि उहाँले आफ्नो नाम गिनीज बुकमा लेख्नुहुन्छ।”,उनले भने,”संघीय सरकार गइसक्यो, प्रदेश सरकार गइसक्यो। पत्ता साप भइसक्यो। तर अझै पनि घमण्ड यथावत छ”