काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को नतिजा अनलाइनमा उपलब्ध भएको छ। शुक्रबार बिहान भएको आइपिओ बाँडफाँटको नतिजा शुक्रबार मध्यान्न अनलाइनमा उपलब्ध भएको हो। बाँडफाँटको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट(मेरो शेयर)मा उपलब्ध भइसकेको छ।
कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए । आवेदन दिएकामध्य ९५ हजार ७२२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये आठ लाख १९ हजारलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले गत असोज २० गतेदेखि २५ गतेसम्म कूल रु ९० करोड बराबरको रु १०० अङ्कित मूल्यका ९० लाख कित्ता शेयर निष्कासन मा ल्याएको थियो ।
बिक्री प्रबन्धकका अनुसार बिक्री खुला गरिएको कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशतअर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई, पाँच प्रतिशतअर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी रु ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको हो ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत करिब रु १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ रहने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख छ ।