एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीमा हुँदा तहल्का मच्चाएका इडन हाजार्डका लागि रियल म्याड्रिडको बसाई फापिरहेको छैन। पटक-पटक घाइते हुँदा उनी मैदान बाहिर रहँदै आएका छन्। घाइते भइरहने भैरहेका कारण रियल म्याड्रिड उनको भर पर्न सकेको छैन।
फिट हुँदा पनि मौका पाउन छाडेपछि हाजार्ड रियल छाड्ने मनस्थितमा पनि पुगेका छन्। रियलमा हाजार्डको सम्झौता सन् २०२४ सम्मको लागि छ। रियलमा अवसर कम पाउने भएका कारण उनी अन्यत्र जाने योजनामा रहेको बताइन्छ। तर यस बारे स्पष्ट भने भैसकेको छैन।
यसै बीच रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी हाजार्डलाई रियलमा रोक्ने पक्षमा नरहेको स्पष्ट हुन आएको छ। कार्लो एन्सेलोटीले घुमाउरो पारामा हाजार्डलाई कर गरेर रियलमा राख्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन्।
पत्रकारहरुले सोचेको प्रश्नको जवाफ दिनेक्रममा एन्सेलोटीले आफ्नो करियरमा कुनै पनि खेलाडीलाई कर गरेको र अड्काउने काम नगरेको बताए। क्लब छाड्न चाहने खेलाडीलाई अड्काएर राख्ने काम कहिल्यै नगरेको एन्सेलोटीको भनाई छ।
“कोचको रूपमा मेरो करियरमा मैले कुनै खेलाडीलाई छोड्न चाहेको अवस्थामा रहन बाध्य पारेको छैन। मेरो आफ्नै व्यक्तिगत विचारमा मलाई यसमा कुनै शंका छैन।”,उनले भने।
हाजार्ड प्रिमियर लिगमा फर्किने चर्चा
हाजार्ड चेल्सीमा हुँदा विश्वकै उत्कृष्ट स्ट्राइकर रहेका थिए। तर रियल आए यता उनी लगातार ओरालो यात्रामा छन्। पछिल्लो समय रियल छाड्ने मनस्थित बनाएका हाजार्ड प्रिमियर लिग फर्किने चर्चा छ। विभिन्न संचार माध्यमहरुमा आएको खबरका अनुसार हाजार्ड चेल्सी अथवा न्युक्यासल फर्किन सक्छन्।

