एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का पूर्व खेलाडी ज्लाटन इब्राहिमोभिकले पिएसजीका युवा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले नयाँ-नयाँ चुनौतीलाई स्वीकार गर्नुपर्ने बताएका छन्। एक मिडियासंग कुराकानी गर्नेक्रममा इब्राहिमोभिकले एम्बाप्पेलाई कठिन भन्दा कठिन चुनौतीलाई स्वीकार गरेर अगाडी बढ्नुपर्ने बताएका हुन्।
टेलिफुटसंग कुराकानी गर्दा ज्लाटनले आगोमा हिड्न सिकेर अगाडी बढे एम्बाप्पे अझै बढी सफल हुने बताए। एम्बाप्पेको पूर्ण क्षमता कठिन चुनौती स्वीकार गरेपछि मात्रै निस्किने ज्लाटनको भनाई छ। एम्बाप्पेलाई लिएर ज्लाटनको केहि गुनासो छ। उनका अनुसार एम्बाप्पे पर्याप्त मिहिनेत गरिरहेका छैनन्।
“मलाई एम्बाप्पे मनपर्छ, उनको माया पनि लाग्छ। तर उनी पर्याप्त काम गरिरहेका छैनन्। कठिन भन्दा कठिन चुनौतीलाई स्वीकार गरेर अगाडी बढे मात्रै उनी थप सफल हुन्छन्।”,ज्लाटनले भने,”उनले आगोमा हिड्न सक्नुपर्छ।”
त्यस्तै ज्लाटनले एम्बाप्पे आलोचना गर्नेहरु र चुनौती दिनेहरुबाट घेरिनु पर्ने पनि बताएका छन्। उनका अनुसार अहिले एम्बाप्पे प्रशंसा गर्नेहरुबाट मात्रै घेरिएका छन्। ज्लाटनले भने,”एम्बाप्पे चुनौतीले घेरिनु पर्छ। यदि कसैले तपाईलाई पर्याप्त राम्रो हुनुहुन्न भन्छन् र आलोचना गर्छन् भने तपाई अझै राम्रो खेल्न सक्नु हुन्छन्, सुधार गर्ने चाहना बढेर जान्छ।”
एम्बाप्पे आफ्नो शिर्ष १० खेलाडीको सूचीमा पर्ने समेत ज्लाटनले बताए। धेरै खेलाडीहरु उच्च स्थानमा रहेपनि एम्बाप्पे र हालाण्ड जस्ता युवा खेलाडीहरु पनि आफ्नो रोजाईमा पर्ने ज्लाटन बताउँछन्।
“एमबाप्पे मेरो शीर्ष १० मा छन्। त्यहाँ खेलाडीहरू छन् जो धेरै लामो समयदेखि शीर्षमा छन् तर युवा केटाहरूमा एम्बाप्पे र हालाण्ड पनि मेरो सूचीमा छन्। म त त्यसमा भैहालें।”,उनले भने।