एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणका खेलहरु मंगलबारबाट सुचारु हुँदैछन्। सम्पूर्ण समूहका पहिलो चरणका खेलहरु सकिएको अवस्थामा दोस्रो लेगका खेलहरु मंगलबारबाट शुरु हुने लागेका हुन्।
बुधबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आरबी लाइपजिङको सामना गर्दैछ। रेड्बुल एरिनामा पिएसजीले लाइपजिङको सामना गर्न लागेको हो। खेल बुधबार राति १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। लाइपजिङको घरेलु मैदानमा हुने खेलका लागि पिएसजी जर्मनी पुगिसकेको छ।
मेस्सी स्क्वाडबाट आउट
पछिल्लो केहि दिन देखि सामान्य घाइते भएका लियोनेल मेस्सी लाइपजिङ विरुद्धको खेलमा उपलब्ध हुने छैनन्। उनी पिएसजीको स्क्वाडबाट बाहिरिसकेका छन्। पिएसजीले सार्वजनिक गरेको २१ खेलाडीको सूचीमा मेस्सी परेका छैनन्।
पिएसजीले दिएको जानकारी अनुसार मेस्सी दुई समस्यासँग जुधिरहेका छन्। उनको घुँडा र ह्यामस्ट्रिङमा समस्या देखिएको छ। खुट्टामा समस्या देखिएपछि मेस्सी पछिल्लो खेलमा प्रतिस्थापित भएका थिए। लिल विरुद्धको खेलमा उनलाई पहिलो हाफ सकिएपछि मैदानमा पठाइएको थिएन।
पछिल्लो हारको बदला लिने दाउमा लाइपजिङ
च्याम्पियन्स लिगको पहिलो लेगमा लाइपजिङ पिएसजीसंग पराजित भएको थियो। मेस्सीले दुई गोल गर्दा एम्बाप्पेले १ गोल गरेका थिए। त्यसबेला लाइपजिङ पिएसजीसंग ३-२ को गोल अन्तरले पराजित भएको थियो।
लाइपजिङले तीन खेल खेल्दा कुनै पनि खेल जित्न सकेको छैन। लाइपजिङ तीनै खेलमा पराजित भएको थियो। पिएसजीले भने २ खेलमा जित निकाल्दा १ खेलमा हार बेहोरेको छ।