रोनाल्डोले फेरी पनि गरे युनाइटेडको उद्धार, डुबिसकेको अवस्थामा देखाए आफ्नो कला !

एजेन्सी – सुपरस्टार पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ ।

खेलमा दुईपटक पछि परेको अवस्थामा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले इटालियन क्लब एटलान्टासँग २–२ गोलको बराबरी खेलेको हो । जिविस स्टेडियम बरगामोमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले खेलको १२औं मिनेटमा अग्रता लिएको थियो । जोसिप इलिसिसले डुवान जापटाको पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५६औं मिनेटमा लुइस पालोमिनोको पासमा डुवान जापटाले गोल गर्दै एटलान्टालाई पुनः २–१ को अग्रता दिलाए । तर, इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोनाल्डोले मासन ग्रीनवुडको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

यो बराबरीपछि समूह ‘एफ’ मा युनाइटेड ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ७ अंक नै रहेपनि भिल्लारियल दोस्रो स्थानमा रहेको छ । एटलान्टा ५ अंक जोडेर तेस्रो स्थानमा रहँदा योङ ब्वाइज ३ अंक जोडेर पुछारमा रहेको छ ।

यही समूहको अर्काे खेलमा स्पेनिस क्लब भिल्लारियलले स्वीस क्लब योङ ब्वाइजलाई २–० ले पराजित गरेको छ ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७८०७:३६

फातीको निर्णायक गोल, बार्सिलोनाको जित !