एजेन्सी – सिजनको पहिलो म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको सिजनको पहिलो डर्बीमा युनाइटेड म्यानचेस्टर सिटीसँग पराजित भएको हो।
शनिबार राति भएको खेलमा सिटीले युनाइटेडलाई २-० को गोल अन्तरले पराजित गर्यो। खेलको शुरुवातबाटै सिटीले युनाइटेड माथि दबाव बनाएको थियो। जसले सिटीलाई शुरुवाती समयमै सफलता दिलायो।
सिटीले खेलको सातौँ मिनेटमै अग्रता लिएको थियो। युनाइटेडका एरिक बेलीले आत्मघाती गोल गर्दा सिटीले सात मिनेटमै अग्रता पाएको थियो। जोआओ क्यान्सेलोको प्रहारलाई रोक्नेक्रममा बेलीले बललाई गोलपोस्ट तर्फ पठाएका थिए। त्यस्तै सिटीका लागि अर्को गोल ४५ औं मिनेटमा भएको थियो। बर्नार्डो सिल्भाले सिटीको अग्रता दोब्बर बनाएका थिए।
सिटी विरुद्धको खेलमा युनाइटेड धेरै नै कम्जोर देखिन पुग्यो। बलमा सिटीको ६८ प्रतिशत पकड रहँदा युनाइटेडको ३२ प्रतिशत मात्रै बलमा पकड रह्यो। सिटीले कुल १६ शट प्रहार गर्दा युनाइटेडको तर्फबाट मात्रै ५ शट प्रहार भए। त्यसमध्ये सिटीका ५ शट टार्गेटमा थिए भने युनाइटेडको मात्रै १ प्रहार टार्गेटमा थियो। उक्त शट पनि रोनाल्डोले प्रहार गरेका थिए।
युनाइटेड माथि जित निकालेसँगै सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। सिटीले ११ खेलबाट २३ अंक जोडेको छ। त्यस्तै युनाइटेड लिगको पाँचौं स्थानमा छ। युनाइटेडले ११ खेलबाट १७ अंक बटुलेको छ।

