एजेन्सी – इंगलिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्साएरको जागिर धरापमा परेको छ। टोलीको लगातारको निराशजनक प्रदर्शनसँगै ओलेको जागिर धरापमा परेको हो।
लिभरपुलसँग ५-० को लज्जास्पद हार बेहोरेसँगै धरापमा परेर जोगिएको ओलेको प्रशिक्षक पद आउने केहि समय भित्रै जाने संकेतहरु मिलेका छन्। बेलायतबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुका अनुसार छिट्टै ओले बर्स्खास्त हुनेछन्।
ओलेलाई लिएर युनाइटेडका खेलाडीहरु नै असन्तुष्ट रहेको र ओले छिट्टै नै बर्खास्त हुने बेलायती पत्रिका डेली मेलले जनाएको छ। डेली मेलका अनुसार ओले विरुद्ध युनाइटेडका खेलाडीहरु नै भित्र-भित्रै विद्रोहमा उत्रिरहेका छन्।
प्रिमियर लिगमा म्यानचेस्टर सिटीसंग हारेपछि ओलेलाई हटाइनुपर्ने पक्षमा युनाइटेडकै खेलाडीहरुले आवाज उठाउन थालेको डेली मेलको दावी छ। युनाइटेडले ओलेलाई सिजनको अन्त्य सम्म नहटाउने रणनीति बनाएको भएपनि खेलाडीहरुले दबावका कारण छिट्टै नै बर्खास्त गर्नुपर्ने अवस्था आउन सक्ने डेली मेलले अनुमान गरेको छ।
केहि समय अगाडी मात्रै क्रिस्टियानो रोनाल्डो समेत ओलेलाई हटाएर नयाँ प्रशिक्षक ल्याउनुपर्ने पक्षमा रहेको खबर आएको थियो। बताइएअनुसार रोनाल्डो ओलेलाई हटाएर सम्भव भए जिनेदिन जिदानलाई प्रशिक्षकको रुपमा ल्याउनुपर्ने पक्षमा छन्।
प्रिमियर लिगका ११ खेल खेल्दा युनाइटेडले अहिले सम्म मात्रै ५ खेलमा जित निकालेपनि ४ खेलमा पनि हारेको छ। त्यस्तै २ खेलमा भने युनाइटेड बराबरीमा रोकिएको छ। युनाइटेडको १७ अंक छ। केहि समय सम्म लिगको शिर्ष चारमा रहेको युनाइटेड अहिले छैठौं स्थानमा छ।