के मेस्सीले पिएसजीलाई नटेरी खेल्लान् ?

एजेन्सी – अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आगामी विश्वकप छनोटमा उरुग्वे र ब्राजिलविरुद्धका दुई खेलका लागि लियोनल मेस्सीलाई आफ्नो योजनामा समावेश गरिसकेका छन्। राष्ट्रिय टोलीमा समावेश भएपछि मेस्सी अर्जेन्टिना पुगिसकेका छन्।

अर्जेन्टिना पुगिसकेपनि मेस्सी राष्ट्रिय टोलीबाट खेल्छन् कि खेल्दैनन् भन्ने बारे भने टुंगो लागिसकेको छैन। पूर्णरुपमा फिट नरहेका उनी पेरिस सेन्ट जर्मेन(पिएसजी)का पछिल्ला खेलहरुमा देखिएका छैनन्। पिएसजीका अनुसार मेस्सीको खुट्टामा समस्या रहेको छ। मेस्सीले च्याम्पियन्स लिगको एक खेल पनि गुमाएका थिए।

मेस्सीलाई राष्ट्रिय टोलीमा समावेश गरिएको प्रति पिएसजी स्पष्ट रुपमा रुष्ट भएको छ। यस विषयमा पिएसजीका खेलकुद निर्देशक लियोनार्डो आफैंले बोलिसकेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लियोनार्डोले पूर्वरुपमा फिट नरहेका मेस्सीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समावेश गरिएको भन्दै असन्तुष्टि जनाए।

चोटिल भएर खेल्न नसकिरहेका खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरिनु ठिक नभएको उनको भनाई छ। खेलाडी पूर्णरुपमा फिट नभएको अवस्थामा राष्ट्रिय टोलीका लागि फिर्ता बोलाउन मिल्ने-नमिल्ने विषयमा फिफामा पनि छलफल हुनुपर्ने उनले बताएका थिए।

पूर्ण रुपमा फिट नभएका खेलाडी खेल्न नहुने भन्दै पिएसजीले आफ्नो धारणा राखिसकेको अवस्थामा मेस्सी अर्जेन्टिनाको शुरुवाती ११ मा समावेश हुने-नहुने पनि स्पष्ट छैन। मेस्सी उरुग्वे विरुद्धको खेलमा नखेलेपनि ब्राजिल विरुद्धको खेलमा भने मैदानमा उत्रने धेरैको अनुमान छ।

केहि संचार माध्यमहरुका अनुसार मेस्सी उरुग्वे विरुद्धको खेलमा पूरा समय मैदानमा हुने छैनन्। तर मेस्सी ब्राजिल विरुद्धको खेलमा भने पूरा समय मैदानमा हुन सक्ने सम्भावना छ।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८०९:४०

रियललाई हालाण्डका पिताको झड्का, हालाण्डलाई यो क्लबमा पठाउन चाहन्छन् अल्फ-इन्जे !