एजेन्सी – समर ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेडले १ सय २६ मिलियन पाउण्ड खर्च गरेको थियो। उक्त रकममा युनाइटेडले क्रिस्टियानो रोनाल्डो, जाडोन सान्चो, र राफेल भाराने जस्ता खेलाडीलाई भित्र्याएको थियो।
रोनाल्डो र सान्चो स्ट्राइकर हुन् भने भाराने डिफेन्डर हुन्। विश्वस्तरीय तीन खेलाडी भित्र्याएपछि गएको सिजन प्रिमियर लिगको उपविजेता बनेको युनाइटेडले यस सिजन झनै राम्रो प्रदर्शन गर्ने अपेक्ष गरएको थियो। तर युनाइटेडले गएको सिजनको तुलनामा जारी सिजनमा धेरै नै खराब प्रदर्शन गरिरहेको छ।
उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी भएर पनि राम्रो नतिजा निकाल्न नसकेका कारण युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्साएर लगातार आलोचित भैरहेका छन्। पछिल्लो अमय ओलेलाई बर्खास्त गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। ओलेलाई बर्खास्त गर्न युनाइटेडकै खेलाडीहरुले पनि क्लबलाई दबाव दिन थालेको खबरहरु आएका छन्। ओले विरुद्ध युनाइटेडकै घरेलु मैदानमा पनि नारा-वाजी भैसकेका छन्।
हालसालै गरिएको एक सर्वेक्षणले ओलेलाई बर्खास्त गर्नुपर्ने पक्षमा अधिकांश युनाइटेड समर्थक रहेको देखाएको छ। द एथलेटिकले गरेको सर्वेक्षणले ओलेलाई बर्खास्त गर्नुपर्ने पक्षका अधिकांश युनाइटेड समर्थक रहेको देखाएको हो।
द एथलेटिकले युनाइटेडका ४ हजार समर्थकलाई उक्त सर्वेक्षणमा सहभागी गराएको थियो। जसमध्ये ६९ प्रतिशत सहभागीले ओलेलाई तत्कालै बर्खास्त गरिनुपर्ने मत जाहेर गरेका थिए। अर्को एक सर्वेक्षणमा ओलेले वर्तमान अवस्थामा कस्तो काम गरिएका छन् भनेर गरिएको प्रश्नमा अधिकांशले ओलेले राम्रो काम नगरिरहेको बताएका छन्।

