नेपाल सरकारका उच्च अधिकारीसँग नजिक छु भन्ने भारतीयको खुल्यो पोल, बालुवाटारबाट पक्राउ !

काठमाडौँ – लाखौं रकम ठगेको आरोपमा एक भारतीयलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौँको बालुवाटारबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको चेन्नाई घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरूमुथु चेटियार रहेका छन्। उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

चेटियारले आफू मेडिकल व्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरूसँग आफ्नो कुरा भएको र अस्पतालमा पार्टनर बनाइदिने प्रलोभनमा पारी ठगि गरेको महाशाखाले जनाएको छ।

प्रलोभनमा पारेर पैसा संकलन एवं जग्गाको लालपुर्जा लिएको, नेपालीका नागरिकता प्रमाणपत्र लिएर त्यसकै आधारमा बैंक खाता खोल्ने र जम्मा भएको रकम हिनामिना गर्ने कार्य गर्दै ठगेको भन्दै उनी विरुद्ध उजुरी प्रहरीमा परेको थियो।

चेटियारले आफू अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आइसीआरसी)को डाइरेक्टरसमेत रहेको झुटा विवरण समेत देखाउने गरेका थिए। साथै उनले नेपाल सरकारका उच्च अधिकारीसगँ समेत निकट सम्बन्ध कायम रहेको बताउने गरेको प्रहरीले जनाएको छ।

पछिल्लो पटक उनी २०७२ जेठ २२ मा पक्राउ परी २ वर्ष कैद भुक्तान एवं ३ लाख ५० हजार जरिवाना तिरेर गरी डिल्लीबजार कारागारबाट छुटेको पनि खुल्न आएको छ।

अनुसन्धानका क्रममा उनले विभिन्न मानिसबाट ५० लाख रुपैयाँ ठगी गरेको खुलेको बताइएको छ। मंगलबार पक्राउ परेका उनी माथि थप अनुसन्धान भैरहेको छ। महाशाखाले उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८२०:५८

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन