एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका एक पूर्व अधिकारीले क्रिस्टियानो रोनाल्डोलाई बार्सिलोनामा भित्र्याउनु पर्ने बताएका छन्। जोआन लापोर्टा पहिलो पटक बार्सिलोनाको अध्यक्ष हुँदा बार्सिलोनाको निर्देशकको रुपमा काम गरिसकेका टोनी फ्रीक्साले रोनाल्डोलाई भित्र्याउने सहि समय अहिले भएको बताएका हुन्।
सन् २०२१ को निर्वाचनमा समेत भाग लिएका फ्रीक्साले एक मिडियासंग कुराकानी गर्नेक्रममा रोनाल्डोलाई अनुबन्ध गर्न अहिले सबै भन्दा उपयुक्त समय रहेको बताए। क्लबको अवस्थाले रोनाल्डोको ट्रान्सफरलाई सम्भव गराउन सक्ने उनको भनाई छ।
रोनाल्डोले युनाइटेड छिट्टै छोड्न सक्ने चर्चा चलिरहेका बेला फ्रीक्सालाई के बार्सिलोनाले रोनाल्डोलाई अनुबन्ध गर्न सक्ला भनेर सोधियो। जसक्रममा उनले अहिले नै सबै भन्दा उत्तम समय रहेको बताए।
रोनाल्डो भित्र्याउने जस्तो पागलपनको लागि अहिले सबै भन्दा उचित समय भन्ने उनलाई लाग्छ। उनी भन्छन्,”यदि यस्तो पागलपनको लागि समय छ भने यो अहिले हो।”
गएको केहि दिन देखि रोनाल्डोले युनाइटेड छाड्ने चर्चा चलिरहेको छ। बताइएअनुसार, युनाइटेडको पछिल्लो अवस्थाबाट रोनाल्डो सन्तुष्ट हुन सकिरहेका छैनन्। रोनाल्डो करियरको अन्त्य केहि उपाधि थप जित्ने महत्वाकांक्षा युनाइटेड पुगेका हुन्। प्रिमियर लिग देखि च्याम्पियन्स लिग सम्म जित्ने योजना बोकेर युनाइटेड पुगेपनि उनको महत्वाकांक्षा पुरा नहुने देखिन्छ।
पछिल्ला खेलहरुमा युनाइटेडले जुन स्तरको खेल प्रदर्शन गरिरहेको छ, त्यसले रोनाल्डोलाई नयाँ गन्तव्य खोज्न बाध्य बनाएको छ। यस सिजन युनाइटेड च्याम्पियन्स लिगका लागि छनौट नभएको खण्डमा उनले युनाइटेड छाड्ने सम्भावना प्रवल देखिन्छ।