एजेन्सी – विश्वकप छनौटमा शुक्रबार बिहान पोर्चुगल आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। पछिल्लो खेलमा २-० ले हराएको भएपनि शुक्रबार बिहान भएको खेलमा भने पोर्चुगलले घरेलु टोली आयरल्यान्डलाई हराउन सकेन।
८२औं मिनेटमा पेपे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेत समेटियो। त्यसपछि पोर्चुगलले खुलेर आक्रमण गर्न सकेन। आयरल्याण्डसंग बराबरी खेलेसँगै पोर्चुगल विश्वकपका लागि छनौट हुनको लागि अझै एक केहि खेल कुर्नुपर्ने भएको छ।
यो बराबरीपछि पोर्चुगल ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १७ अंक नै रहेपनि सर्विया गोल अन्तरमा दोस्रो स्थानमा छ। आइतबार यी दुई देश आमनेसामने हुँदैछन्। विश्वकप छनौट अन्तर्गत पछिल्लो पटक दुईले बराबरी खेलेका थिए।
आयरल्याण्डसंगको खेल बराबरीमा टुंगिएपछि पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आउने खेलमा सर्वियालाई हराएर विश्वकपका लागि छनौट हुने प्रण गरेका छन्।
सामाजिक संजाल मार्फत आफ्ना समर्थकहरुलाई एक संदेश जारी गर्दै उनले घरेलु मैदानमा हुने खेलमा जित दर्ता गराएर विश्वकपका लागि छनौट हुने प्रण गरेका हुन्। आयरल्याण्ड विरुद्ध अंक बाँड्न बाध्य भएपनि आउने खेलबाट विश्वकपका लागि छनौट हुनेमा रोनाल्डो विश्वस्त छन्।
“आयरल्याण्डमा खेल्न सधैं गाह्रो हुन्छ, तर कमाएको अंकले सबै गोलहरू हाम्रो अधिनमा छाडेको छ। आइतवार, हाम्रा दर्शकहरूको अगाडि र हाम्रो घरमा, हामी कतारमा हुने विश्वकपमा आफ्नो उपस्थितिको छाप लगाउनेछौं!”,रोनाल्डोले सामाजिक संजाल मार्फत भनेका छन्।

