एम्बाप्पेले गरे २५ मिनेटमै ह्याट्रिक, विश्वविजेता फ्रान्सको दनादन ८ गोल !

एजेन्सी – केलियन एमबाप्पेको ह्याट्रिकसहित चार गोल तथा करिम बेन्जेमाको दुई गोल सहयोगमा फ्रान्सले काजकस्तानमाथि सानदार जित निकाल्दै अर्काे वर्ष कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको छ ।

फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा फ्रान्सले काजकस्तानलाई ८–० को भारी अन्तरले पराजित गर्दै छनोट चरणमा एक खेल बाँकी छँदै विश्वकपमा स्थान पक्का गरेको हो । गोलको वर्षा भएको खेलमा एड्रिएन राविओट र एन्टोइन ग्रिजमनले पनि समान एक गोल थपे ।

विश्वविजेता फ्रान्स विश्वकपमा स्थान बनाउने चौथो टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेको छ । आयोजकको हैसियतमा कतार पनि छनोट भइसकेको छ ।

पार्क डेस प्रिन्सेसमा गोलको वर्षा भएको खेलमा एमबाप्पेले पहिलो हाफको ३२ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । छैटौ मिनेटमा पहिलो गोल गरेको एमबाप्पे १२औं मिनेट र ३२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि फ्रान्स पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

५५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई ४–० ले अघि बढाए । ५९औं मिनेटमा बेन्जेमाले व्यत्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे । ७५औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै फ्रान्सलाई फराकिलो जिततर्फ अघि बढाए । ८४औं मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै खेललाई ७–० को स्थितिमा ल्याए ।

त्यसको तीन मिनेटपछि एमबाप्पेले व्यक्तिगत चौथो तथा टोलीको लागि आठौं गोल गर्दै फ्रान्सलाई फराकिलो जित दिलाए । यो जितपछि अपराजित रहेको फ्रान्स ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रह्यो । पराजित काजकस्तान ३ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्काे खेलमा फिनल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ३–१ ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । १० खेलाडीमा समेटिएको फिनल्यान्डको जितमा मार्कुस फोर्स, रोविन लोड र ड्यानियलले गोल गरे । बोस्नियाका लुका मिनालोको गोल सान्त्वना बन्यो ।

जुक्का राइटाला ३७औं मिनेटमा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फिनल्यान्ड १० खेलाडीमा समेटिएको थियो । त्यसअद्धि मार्कुस फोर्सको गोलमा फिनल्यान्डले खेलमा अग्रता लिएको थियो । त्यसअघि फिनल्यान्डका टिमु पुक्कीले पेनाल्टी चुकाएका थिए ।

५१औं मिनेटमा रोविन लोडले गोल गर्दै अग्रता दोब्बर पारे । ६९औं मिनेटमा लुका मिनालोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७३औं मिनेटमा ड्यानियलले गोल गर्दै फिनल्यान्डको जित पक्का गरे ।

यो जितपछि फिनल्यान्ड ७ खेलबाट ११ अंक जोडेर दोस्रो स्थनमा रहेको छ । बोस्निया ७ अंक जोडेर चौथो स्थानमा रहँदा युक्रेनको ९ अंक छ । छनोटको अन्तिम खेलमा फिनल्यान्डले फ्रान्ससँग खेल्दैछ । युक्रेनले बोस्नियासँग खेल्दैछ । यो खेलबाट प्ले अफ पुग्ने टोलीको टुंगो लाग्नेछ ।

प्रकाशित : आइतबार, कार्तिक २८, २०७८०७:२७

ब्यालोन डी’ ओर २०२१ को विजेता बने लियोनल मेस्सी ? दिए यस्तो अन्तर्वार्ता !