एजेन्सी – रियल म्याड्रिडका लागि इडेन हाजार्ड र बार्सिलोनाका लागि फिलिप काउटिन्हो दुवै टाउको दुखाईको विषय बनिरेका छन्। दुई खेलाडी बीच धेरै समानता छन्। दुवै खेलाडी प्रिमियर लिगबाट लालिगा आइपुगेका हुन्।
दुवै खेलाडीका बार्सिलोना र रियलले १ सय मिलियन युरो भन्दा बढी रकम खर्च गरेका थिए। स्पेन आइपुग्नु भन्दा अगाडी दुवै खेलाडी प्रिमियर लिगमा उच्च स्तरको खेल प्रदर्शन गरिरहेका थिए।
तर स्पेन आइपुगेपछि दुवैलाई भाग्य र शारिरले साथ दिएन। एक अर्थमा भन्नुपर्दा हाजार्ड र काउटिन्हो चोटको मामलामा एक-अर्कालाई टक्कर नै दिरहेका छन्। चोटका कारण दुवै खेलाडीले आफ्नो क्लबका लागि खासै योगदान दिन सकेका छन्। लगातार घाइते हुने भएका कारण दुवै क्लब यदि बेला हाजार्ड र काउटिन्होबाट छुटकारा पाउन चाहन्छन्।
हाजार्ड
क्रिस्टियानो रोनाल्डोले छाडेपछि उनको ठाउँ लिन सक्ने खेलाडीको रुपमा रियलले चेल्सीका हाजार्डलाई भित्र्याएको थियो। चेल्सीमा एक वर्ष सम्झौता बाँकी हुँदै रियलले हाजार्डलाई १ सय मिलियन भन्दा बढी खर्च गरेर ल्याएको थियो। सन् २०१९ मा रियल आएयता उनी कयौं पटक घाइते भैसकेका छन्। हाजार्डले अहिले सम्म एक पटक पनि एल क्लासिको खेलेका छैनन्।
जारी सिजनमा हाजार्ड घाइते नभएपनि कार्लो एन्सेलोटीको योजनामा पर्न सकेका छैनन्। कार्लो एन्सेलोटीले सार्वजनिक रुपमा हाजार्ड माथि पूरा भरोशा गर्न सक्ने अवस्था नरहेको बताइसकेका छन्। लगातार घाइते हुन थालेपछि हाजार्डको बजार मूल्य पनि ह्वात्तै घटेको छ। ट्रान्सफरमार्कटले उनको मूल्य मात्र २५ मिलियन यूरो राखेको छ।
काउटिन्हो
नेयमारले क्लब छाडेपछि उनको ठाउँ लिन बार्सिलोनाले काउटिन्होलाई भित्र्याएको थियो। उनलाई भित्रयाउन बार्सिलोनाले लिभरपुललाई १ सय ५० मिलियन युरो तिरेको थियो। तर अहिले उनको बजार मूल्य घटेर १४ मिलियन युरोमा आइसकेको छ।
बार्सिलोना आइपुगेपछि उनलाई न त शारिरले साथ दिएको छ, न त भाग्यले नै। गएको केहि सिजन देखि बार्सिलोनाले उनलाई बेच्ने प्रयास पनि गरिरहेको छ, जुन सफल हुन सकिरहेको छैन। नवनियुक्त बार्सिलोना प्रशिक्षक जाभी हर्नान्डेजले काउटिन्हो माथि कति विश्वास गर्छन् भन्ने कुरा भने समयले नै बताउनेछ।