काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन नजिकिदैं गर्दा यसका अध्यक्ष केपी शर्मा ओली भने दवावमा पर्दै गएका छन् । १० बुँदैलाई आधार बनाएर माधव नेपालको साथ छाडेका र नेकपा विभाजित हुँदा प्रचण्डको साथ छाडेर एमालेमै रहेका दुई थरी नेताको व्यवस्थापन ओलीको टाउको दुखाई बनेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
दस बुँदेलाई लिएर एमालेमा अझै असन्तुष्टि देखिन्छ । दसौँ महाधिवेशनमा खासगरी सो सहमति गरेर माधव नेपालको साथ छाडेका र माओवादी केन्द्र त्यागेर एमालेमै बसेका नेताहरुको व्यवस्थापन गर्न अध्यक्ष केपी ओलीलाई हम्मे पर्ने देखिएको छ । मंसिर १०–१२ चितवनमा हुने महाधिवेशनमा १५ पदाधिकारी पदमा दुवै पक्षलाई समेट्नुपर्ने दबाबमा ओली छन् । ती नेताहरुको उचित व्यवस्थापन नभए निर्विरोध अध्यक्ष चयन हुन खोजेका ओलीलाई त धक्का लाग्छ नै, नेताहरुलाई समेत जोगाउन हम्मे पर्ने देखिन्छ ।
माओवादी केन्द्रमा नगई एमालेमै बसेका नेताहरुको व्यवस्थापन नभए माओवादी केन्द्रमै फर्किने सम्भावना पनि छ । असार २७ गते दस बुँदे सहमति गरेर माधव नेपालको साथ छाडेका उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायत नेताहरु पदाधिकारीका आकांक्षी छन् ।
त्यस्तै रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापालाई पदाधिकारी र अन्य पूर्व माओवादी नेताहरुले केन्द्रीय सदस्यको आशा गरेका छन् । यदि ती नेताहरुले उचित जिम्मेवारी नपाए असन्तुष्टि चर्किने नेताहरु बताउँछन् ।
उपाध्यक्ष रावलले दसौँ महाधिवेशनमा अध्यक्षमै चुनाव लड्ने बताइसकेका छन् । उनी आफ्ना पक्षका नेताहरुसँग परामर्शमा छन् । यस्तै सुरेन्द्र पाण्डेले पनि महासचिवका लागि लविङ गरिरहेका छन् । नवौँ महाधिवेशनमा पाण्डे ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका थिए ।