ब्राजिल र अर्जेन्टिना बीच महा भिडन्त हुँदै: मेस्सी टोलीमा फर्किए, नेयमार भने बाहिरिए !

दक्षिण अमेरिकी फेडेरेशन कोनमेबोल क्षेत्रको विश्वकप छनौट खेलमा बुधबार फुटबल जगत कै सबैभन्दा ठूलो खेल हुँदैछ। विश्व फुटबलका दुई ठूला राष्ट्र ब्राजिल र अर्जेन्टिना एक-आपसमा भिड्दै छन्। खेल नेपाली समय अनुसार बुधबार बिहान ५:१५ बाट सुरु हुनेछ।

२०२२ विश्वकप छनौट चरणमा हालसम्म अपराजित रहेका यी दुई टोली बीचको खेल निकै रोमान्चक हुने आशा राखिएको छ। ब्राजिल र अर्जेन्टिना बीचको पछिल्लो छनौट खेल भने अर्जेन्टिनाका खेलाडीले कोभिड सतर्कता नियम तोडेको भन्दै खेल सुरु भएको ७ मिनेटपछि रद्द भएको थियो। १२ खेलबाट ११ जीत र १ बराबरीका साथ ३४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै आउँदो संस्करणको विश्वकपमा छनौट भइसकेको छ।

त्यस्तै, १२ खेलबाट ८ जीत र ४ बराबरीका साथ २८ अंक जोडेर दोस्रो स्थानमा रहेको अर्जेन्टिना ब्राजिललाई पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गर्ने दाउमा हुनेछ। यी दुई टोली बीचको पछिल्लो भेटमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गर्दै कोपा अमेरिका च्याम्पियन बन्न सफल भएको थियो।

ब्राजिल र अर्जेन्टिना बीच को महा भिडन्तबाट ब्राजिलियन सुपरस्टार नेयमार भने चोटका कारण बाहिरिएका छन्। त्यस्तै, चोट कै कारण पीएसजीका अन्तिम दुई खेल गुमाएर उरुग्वे विरुद्धको खेलमा ७६ औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सी भने अर्जेन्टिनाको सुरुवाती ११ मा फर्किने पक्का भएको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७८१३:१२

ब्राजिल विरुद्धको खेल अघि मेस्सीको बारेमा आयो यस्तो ठूलो बयान !