एजेन्सी – बार्सिलोनाका मिडफिल्डर पेड्रीले एक वर्षमै बार्सिलोनामा धेरै राम्रो छाप छाडेका छन्। उमेरले १९ वर्ष नजिक पुगेपनि उनले एक परिपक्क मिडफिल्डर जस्तै खेल प्रदर्शन गरिरहेका छन्। पेड्रीले गएको सिजन बार्सिलोना र स्पेनका लागि अध्याधिक खेल खेलेका थिए। बार्सिलोना डेब्युको एक वर्षमै जुन छाप छाड्न सकेका छन्, त्यसले उनको भविष्य कति उज्ज्वल छ भनेर स्पष्ट पार्छ।
पेड्रीले आउने कयौं वर्ष बार्सिलोनाको मिडफिल्ड सम्हाल्ने अहिले देखि नै अनुमान लगाउन सकिन्छ। पेड्रीको क्लबका लिजेन्ड एन्ड्रेस इनिएस्टासँग तुलना समेत हुने गरेको छ। खेल शैली इनिएस्टासँग मिल्दो-जुल्दो भएका कारण उनको तुलना इनिएस्टासँग गर्न थालिएको हो। पेड्रीको खेलशैली इनिएस्टासँग मिल्न जानुपछाडी एक कारण पनि छ। इनिएस्टालाई पेड्री ‘आइडोल’ मान्छन्।
पेड्रीका अनुसार उनी इनिएस्टाको खेल हेरेर हुर्किएका हुन्। उनी इनिएस्टालाई कुनै एक समयमा यति धेरै पछ्याउँथे कि उनलाई पनि इनिएस्टाको जस्तै कपाल चाहिएको थियो। कपाल झरेर खालि भएको इनिएस्टाको तालुलाई उनले हेयरस्टाइल सम्झिएका थिए। यस विषयमा उनले हालसालै एक अन्तर्वार्ताका क्रममा खुलासा गरेका छन्।
“म मेरा पितासँग नाईकोमा थिएँ। त्यति बेला बार्सिलोनाको खेल चलिरहेको थियो। मैले नाईलाई इनिएस्टाको जस्तै कपाल काटिदिन भनें। म इनिएस्टाको जस्तै हेयरकट चाहन्थें, किनकी उनी मेरा आइडोल थिए। तर पछि मलाई मेरा बुवाले बताउनु भयो कि त्यो कुनै हेयरकट थिएन। “,पेड्रीले भने।

