एजेन्सी – म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले योजना सहित पोर्चुगल फर्किएका थिए, त्यो पूरा हुन सकेन। विश्वकपमा सोझै छनौट हुने उनको योजना एक बराबरी र एक हार पछि चकनाचुर हुन पुग्यो।
विश्वकप छनौट अन्तर्गत पोर्चुगलले आयरल्याण्डसँग बराबरी खेल्यो भने सर्वियासंग हार बेहोर्यो। पोर्चुगलले आयरल्याण्डको घरेलु मैदानमा ०-० को बराबरी खेलेको थियो भने सर्वियासंग २-१ को गोल अन्तरले पराजित भएको थियो।
विश्वकप छनौटका दुवै खेलमा रोनाल्डोले भनेजस्तो प्रदर्शन गर्न सकेनन्। रोनाल्डोले न त आयरल्याण्ड विरुद्ध गोल गर्न सके, न ता सर्विया विरुद्ध नै। सर्विया विरुद्धको हारसँगै रोनाल्डो निराश हुन पुगेका थिए। विश्वकपमा सिधै छनौट हुन नसकेपछि अब पोर्चुगलले प्लेअफ खेल्नुपर्ने भएको छ।
पिडा भुलाएर म्यानचेस्टर तर्फ केन्द्रित
पोर्चुगलबाट सन्तोषजनक प्रदर्शन गर्न नसकेपनि रोनाल्डो अब म्यानचेस्टर युनाइटेड तर्फ केन्द्रित भएका छन्। रोनाल्डोले मंगलबार एक सामाजिक संजाल पोस्ट मार्फत आफू युनाइटेड तर्फ केन्द्रित भएको बताएका हुन्।
रोनाल्डोले पोर्चुगलको माहोल देखि मौसम सम्मको चर्चा गर्दै अब म्यानचेस्टरको लक्ष्यमा केन्द्रित हुने समय आएको उल्लेख गरेका छन्। देश फर्किने जहिले पनि आफू लालायित हुने रोनाल्डोको भनाई छ।
“संसारको जहाँ सुकै यात्रा गरेपनि सधैं पोर्चुगल मेरो र मेरो परिवारको घर हो। शानदार मौसम, अद्भुत खाना, पोर्चुगल जनताको स्नेहले जहिले पनि मलाई तानिराख्छ। तर अब म्यानचेस्टर फर्किने र लक्ष्यहरूमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्ने समय भएको छ। तर हामी चाँडै फर्कनेछौं। फेरी भेटौंला। “,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।

