रोनाल्डो र पोर्चुगल जालान् कतार ? यस्तो रहेछ कतार जाने बाटो ! [विस्तृतमा]

एजेन्सी – क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल विश्वकप छनौटका लागि कठिन बाटोमा पुगेको छ। विश्वकप छनौटको अन्तिम खेलमा सर्वियासँग पराजित भएसँगै पोर्चुगल कठिन बाटोमा पुगेको हो।

अब पोर्चुगलले विश्वकपमा पुग्न विश्वकप छनौटको प्लेअफबाट गुज्रनुपर्ने भएको छ। विश्वकप युरोप छनौट प्लेअफमा पोर्चुगलका अलावा अन्य ११ देश पनि छन्। प्लेअफ सन् २०२२ को मार्च महिनामा हुनेछ। तर उक्त प्लेअफको ड्र भने यहि महिना हुनेछ। नोभेम्बर २६ मा हुने ड्रका लागि टोलीहरुलाई दुई पटमा विभाजन गरिएको छ ।

कुन पटमा कुन-कुन देश ?

पोर्चुगल पहिलो पटमा परेको छ। उक्त पटमा पोर्चुगलका अलावा स्कटल्यान्ड, इटाली, रुस, स्विडेन र वेल्स रहेका छन्। त्यस्तै अर्को पटमा भने टर्की, पोल्यान्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अष्ट्रिया र चेक रिपब्लिक रहेका छन्।

कसरी हुनेछ छनौट ?

युरोपको विश्वकप छनौटका १० समूहका समूह विजेता विश्वकपका लागि सिधै छनौट भए। तर समूह उपविजेता १० टोली स्वतः प्लेअफमा पुगे। प्लेअफमा अन्य दुई टोली पनि छन्। अष्ट्रिया र चेक रिपब्लिक नेसन्स लिगबाट आएका हुन्।

यसरी प्लेअफमा पुगेका १२ देशलाई २ पटमा विभाजन गरिएको छ। प्लेअफबाट तीन टोली छनोट हुने भएकाले १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ। हरेक समूहमा सेमिफाइनल र फाइनल खेल हुनेछ। तीनै फाइनलका विजेताले विश्वकपमा भाग लिन पाउनेछ।

विश्वकप छनौट हुने तीन बाटा

१२ टोलीलाई अहिले ‘सिडेड’ र ‘अनसिडेड’मा वर्गीकरण गरिएको छ। विश्वकप छनौटका शिर्ष ६ टोलीलाई ‘सिडेड’को रुपमा वर्गीकरण गरिएको छ भने अन्यलाई ‘अनसिडेड’। विश्वकप छनौटको अंक र गोलका आधारमा यो वर्गीकरण गरिएको हो।

विश्वकप छनौटका शिर्ष ६ टोली ‘सिडेड’ले पहिलो चरणमा ‘अनसिडेड’सँग खेल्नेछन्। प्लेअफलाई तीन समूह ‘ए’, ‘बि’ र ‘सि’ गरी तीन बाटोमा विभाजन गरिनेछ। हरेक बाटोका सेमिफाइनल र फाइनल खेल हुनेछन्। ‘सिडेड’ले ‘अनसिडेड’सँग दुई लेगका सेमिफाइनल खेल्नेछन् भने फाइनलमा एक लेग मात्र खेलिनेछ। फाइनल जित्नेले विश्वकपमा सहभागी हुन पाउनेछ।

पोर्चुगलको सम्भावना

पोर्चुगल प्लेअफबाट विश्वकपका लागि छनौट हुने सम्भावना धेरै देखिन्छ। २१ औं शताब्दीमा पोर्चुगलले विश्वकप छनौटका लागि प्लेअफको सहारा लिनुपरेको यो तेस्रो पटक हो। यस भन्दा अगाडी पोर्चुगलले सन् २०१० र २०१४ मा पनि प्लेअफको साहारा लिनुपरेको थियो। पोर्चुगलका कप्तान रोनाल्डोले विश्वकपमा छनौटको सम्भावना अन्त्य भइनसकेको बताएका छन्।

“सर्विया विरुद्धको खेल धेरै कठिन थियो, तर हामीलाई डुबाउन पर्याप्त थिएन। कतार पुग्ने हाम्रो उद्देश्य जीवित छ र हामीलाई थाहा छ कि हामीले यसलाई हासिल गर्न के गर्नुपर्छ। जे सुकै होस् पोर्चुगल कतार जान्छ।”,रोनाल्डो भन्छन्।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८२१:१०

२४ घण्टामै भयो कमाल, अगाडी रहेका रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते गोल ५० !