एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल ५० को अवार्ड जितेका छन् । मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड हात पारेको हो ।
भोटिङको अन्तिम दिनसम्म रोनाल्डो अघि रहेपनि २४ घन्टाको नतिजामा मेस्सीले रोनाल्डोलाई थोरै मत अन्तरले पछि पारेको हो । यो सँगै मेस्सीले रोनाल्डोको कीर्तिमानलाई बराबरी गरेका छन् । रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् ।
जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले तेस्रो तथा इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाहले चौथो स्थान हासिल गरे । फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे पाँचौ स्थानमा रहे ।
एर्लिङ हालान्ड, करिम बेन्जेमा, एङ्गोलो कान्टे, केभिन डि ब्रुयन र नेयमार शीर्ष १० मा रहे । मेस्सीले यो वर्ष पहिलो अन्तर्राष्ट्रिय उपाधिको रुपमा कोपा अमेरिका कपको उपाधि जितेका थिए ।
महिलातर्फ बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारिन् । इरेनी पारेडेस दोस्रो तथा एसिसाट ओसोएला तेस्रो स्थानमा रहे । लेकी मार्टिन्स, सिड्नी लोमान, क्यारोलिन ग्राहम हान्सेन, मापी लियोन, कोसोभारे एस्लानी, भिभिएनी मिडेमा र लिन मागुल शीर्ष १० मा रहे ।

