एजेन्सी – कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना विश्वकपका लागि छनौट भएको छ। ब्राजिलसँग बराबरी खेलेपछि चिली इक्वेडरसँग २-० ले हारेसँगै अर्जेन्टिना कतार जाने पक्का भएको हो।
अर्जेन्टिना कतार जाने पक्का भएसँगै अब मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी)मा केन्द्रित हुने भएका छन्। अर्जेन्टिनालाई प्राथमिकतामा राखेर पूरा रुपमा फिट नभएपनि अर्जेन्टिनाका लागि खेलेका मेस्सी अब पिएसजीमा केन्द्रित भएका हुन्।
मेस्सी अर्जेन्टिना फर्किनु अगाडी पिएसजीका खेलिरहेका थिएनन्। खुट्टामा समस्या देखिएका कारण उनी आराम गरिरहेका थिए। पिएसजीले फिट नभएका उनलाई अर्जेन्टिना पठाउन नचाहेपनि अर्जेन्टिना फर्किएका थिए।
त्यसक्रममा पिएसजीका खेलकुद निर्देशक लियोनार्डोले सार्वजनिक रुपमै आपत्ती जनाएका थिए। उनले फिट नभएको खेलाडीलाई राष्ट्रिय टोलीका लागि फिर्ता बोलाइनु गलत भएको बताएका थिए।
विश्वकप छनौटक अन्य खेल नखेल्ने सम्भावना
अर्जेन्टिना विश्वकपका लागि छनौट भैसकेपनि केहि खेल खेल्न बाँकी छ। बाँकी कुनै पनि खेल मेस्सीले नखेल्ने उच्च सम्भावना देखिन्छ। विश्वकप छनौटका बाँकी ४ खेलमा सहभागी नभई मेस्सी पिएसजीमा केन्द्रित हुने बताइन्छ।
स्पेनिस मिडियाले दिएको जानकारी अनुसार केहि समय अगाडी अर्जेन्टिनाको फुटबल एसोसियसन र पिएसजी बीच छलफल समेत भएको थियो। त्यसक्रममा दुवै पक्ष मेस्सीलाई थप खेलमा सहभागी नगराउने सहमतिमा पुगेका थिए। मेस्सीले विश्वको छनौटका बाँकी खेल नखेल्दा दुवै पक्षलाई फाइदा हुने कुरामा दुवै पक्ष सहमत भएका थिए।
विश्वकप छनौटका बाँकी खेल यस वर्षका लागि सकिएका छन्। बाँकि खेल जनवरीबाट शुरु हुनेछन्। त्यस्तोमा अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीलाई राष्ट्रिय टोलीका लागि बोलाउँछन् अथवा हालको सहमतिमा टिक्छन् भन्ने कुरा भने समयले नै बताउनेछ।