जाडो मौसममा छाला सुख्खा र निर्जीव हुने गर्छ । जाडोमा अनुहारमा चिल्लोपन हुँदैन, जसका कारण छालाको चमक हराउने गर्छ। हिटर, ब्लोअर, तातो पानी र धुवाँ यी सबै कुराले छाला बिगार्ने काम गर्छ। त्यसैले यो मौसममा छालाको धेरै ख्याल राख्नुपर्छ । केही सजिलो उपाय अपनाएर यो मौसममा पनि आफ्नो छालालाई स्वस्थ र चम्किलो बनाउन सकिन्छ । जान्नुहोस् यस्ता सरल उपायका बारेमा….

मोइस्चराइज
जाडोमा चम्किलो छाला पाउनको लागि यसलाई मोइस्चराइज गर्नु सबैभन्दा महत्त्वपूर्ण उपाय हो। यसले छालालाई हाइड्रेटेड राख्न र प्राकृतिक तेललाई कायम राख्न मद्दत गर्छ। यसले छालाको नमी कायम राख्छ। यसका लागि नरिवलको तेल, क्यास्टर आयल, ओलिभ आयल, बटरमिल्क र काँक्रो जस्ता प्राकृतिक मोइस्चराइजर छनोट गर्न सकिन्छ।
पानी
जाडो मौसममा मानिसहरु प्रायः पानी पिउन कम गर्छन्, जसले गर्दा छालामा पानीको कमी हुन्छ । हाम्रो शरीरबाट पानी कुनै न कुनै रूपमा बाहिर निस्कन्छ। त्यसैले, जाडो मौसममा पनि पर्याप्त मात्रामा पानी पिउनु निकै आवश्यक हुन्छ। तपाईं जति धेरै पानी पिउनुहुन्छ, तपाईंको छाला त्यति नै चम्किलो हुन्छ।
तातो पानीले मुख नधुनुहोस्
जाडोमा तातो पानीले नुहाउँदा मांसपेशीलाई आराम मिल्छ तर तातो पानी छालाका लागि निकै हानिकारक हुन्छ। तातो पानीले मुख धुँदा छाला सुख्खा र खस्रो हुन्छ। यदि तपाईको छाला सेन्सेटिभ छ भने तातो पानीले मुख धुनु हुँदैन । यदि तपाईं चिसो पानीले मुख धुन सक्नुहुन्न भने यो मौसममा मनतातो पानीले मुख धुनु राम्रो हुन्छ। यसो गर्दा तपाईंको अनुहारबाट प्राकृतिक नमी सजिलै बाहिर निस्कने छैन।
राती छालाको विशेष ख्याल राख्नुहोस्
यदि तपाईं स्वस्थ छालाको चाहना राख्नुहुन्छ भने, राती यसको हेरचाह गर्न नबिर्सनुहोस्। सुत्नुअघि छालालाई मोइस्चराइज गर्नुहोस्। यसले रातमा ७-८ घण्टा सम्म मोइस्चराइज्ड छालामा काम गर्छ, जसको कारण छालामा भोलिपल्ट बिहान चमक आउँछ।

