एजेन्सी – दक्षिण अफ्रिका पूर्व कप्तान एवी डिभिलियर्सले सबै क्रिकेट शैलीबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०१८ मा अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सले फ्रेन्चाइज लिगहरु खेल्दै आएका थिए । तर डिभिलियर्सले शुक्रबार सबै क्रिकेटका शैलीबाट सन्न्यासको लिएको जनाएका छन् ।
योसँगै उनी अव खेलाडीको रुपमा मैदान देखिने छैनन् । उनले दक्षिण अफ्रिकाबाट १ सय १४ ओडिआई, २ सय २८ ओडिआई र ७८ टि२० आई खेल खेलेका छन् । डि भिलियर्स विश्व क्रिकेटका सर्वाधिक आक्रामक ब्याटरमा पर्दछन् । मैदानको चारैतर्फ सट प्रहार गर्न सिपालु डि भिलियर्सलाई मिष्टर ३ सय ६० डिग्री भन्ने गरिन्छ । विष्फोटक ब्याटिङ डिभिलियर्सको प्रमुख विशेषता थियो । उनको विष्फोटक ब्याटिङले विश्वका समर्थकलाई आर्कषित गरेको थियो।
डिभिलियर्सको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक ३१ बलको कीर्तिमान छ । सन् २०१५ मा डिभिलियर्सले वेस्टइन्डिजविरुद्ध ३१ बलमै शतक प्रहार गरेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा उनले रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्दै आएका छन् । यस सिजन देखि विराट कोहलीले कप्तानी छाडेपछि डिभिलियर्सलाई कप्तानको दाबेदारको रुपमा समेत हेरिएको थियो ।
उनले १ सय ९१ टेस्ट इनिङमा २२ शतक र ४६ अर्धशतक सहित ८ हजार ७ सय ६५ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ७८ रन अविजित छ । २ सय १८ ओडिआई इनिङमा उनले २५ शतक र ५३ अर्धशतक सहित ९ हजार ५ सय ७७ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ७६ रन छ । ३ सय ४० टि२० खेलमा डिभिलियर्सले ४ शतक र ६९ अर्धशतक सहित ९ हजार ४ सय २४ रन बनाएका छन् ।