फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सम्झौता नवीकरण गर्न अस्वीकार गर्दै आएका विश्वकप विजेता किलियन एम्बाप्पेसँग यहि जनावरीमा रियल म्याड्रिडसँग सम्झौता गर्ने धेरैले विश्वास गरेका छन्। लामो समयबाट रियलको प्रमुख टार्गेटका रूपमा रहेका छन् फ्रेन्च सुपरस्टार किलीयन एम्बाप्पे।
लामो समयदेखि स्पेनिस क्लबसँग नाम जोडिएका २२ वर्षीय स्टारले पनि आफू रियल जाने इच्छा रहेको प्रष्ट गरिसकेका छन्। रियल म्याड्रिडले पनि विश्व फुटबलका सबैभन्दा मूल्यवान खेलाडी माथि चासो देखाइरहेको छ। विगत लामो समय देखि चल्दै आएको एम्बाप्पे-रियल चर्चा २०२२ को सुरुवातसँगै अन्त्य हुने संकेत देखिएको छ। पीएसजीसँग रहेको सम्झौता नवीकरण हुन नसकेको खण्डमा एम्बाप्पेले आउँदो जनावरीमा अन्य क्लबसँग मौखिक रूपमा सम्झौता गर्न सक्नेछन्।
रियलका अध्यक्ष पेरेजले, जब एमबाप्पेको बारेमा प्रश्न गरियो, एल डिबेटलाई भने, “जनावरी १ मा सबै कुराको समाधान हुन्छ भन्ने आशा छ।” यसअघि एम्बाप्पेले पनि सार्वजनिक रूपमा नै रियल म्याड्रिडमा खेल्ने आफ्नो सपना रहेको व्यक्त गरेका थिए।
पूर्व मोनाको स्टारले सिजनको सुरुवातमा पीएसजीसँग आफूले क्लब छाड्न चाहेको बताएको पनि खुलासा गरेका थिए। एल’ एकुइपेसँग बोल्दै उनले भने,”मैले क्लब छोड्न आग्रह गरें, किनकि अहिलेको समयमा म क्लबसँग आफ्नो सम्झौता नवीकरण गर्न चाहन्न, मैले क्लबलाई गुणस्तरीय प्रतिस्थापनको लागि एक स्थानान्तरण शुल्क होस् भन्ने चाहन्छु।”