एजेन्सी – माउरिसियो पोचेटिनोले फुटबलका महान् खेलाडीहरूको व्यवस्थापन गर्न सोचेजस्तो नभएको बताएका छन्। एक फ्रेन्च मिडियालाई अन्तर्वार्ता दिनेक्रममा लियोनेल मेस्सी, नेयमार, किलियन एम्बाप्पे जस्ता उत्कृष्ट खेलाडीहरुलाई एक साथ व्यवस्थापन गर्ने कुरा सामान्य नरहेको बताएका हुन्।
विश्वका उत्कृष्ट खेलाडी सँग-सँगै उनीहरुको परिवार, मिडिया र फ्यानहरूलाई पनि व्यवस्थापन गर्न सक्नुपर्ने बताए। यस्तोमा सहजै व्यवस्थापन गर्ने कुरा सोचेजस्तो सहज नहुने उनको भनाई छ।
“हामी बिर्सन सक्दैनौं कि हाम्रो हातमा विश्वका उत्कृष्ट खेलाडीहरू छन्। सँग-सँगै उनीहरुका परिवार, मिडिया र फ्यानहरु पनि छन्। जसलाई व्यवस्थापन गरिनुपर्ने हुन्छ।”,पोचेटिनोले भने,”पक्कै पनि यो सजिलो छैन। मानिसहरू खेलाडी घुलमिल हुन नसकेको, पिडामा रहेको कुरा त गर्छन्। तर अन्य कर्मचारीहरू कति समस्यामा हुन्छन्, त्यसको कसैले कुरा गर्दैन।”
सन्तुलन कायम गर्नेमा आफूहरुको ध्यान हुने पनि पोचेटिनोले बताए। अधिकार र दायित्व बीच सन्तुलन नहुँदा समस्या पैदा हुने पोचेटिनोको भनाई छ। खेलाडीहरुले आफ्नो अधिकारको मात्र कुरा गरेको खण्डमा सन्तुलन बिग्रने पोचेटिनो बताउँछन्।
“हामीसँग जिम्मेवारीहरू छन्। सबैले सन्तुलन कायम गर्ने प्रयास गर्नुपर्छ। त्यो खेलाडीहरुमा पनि लागू हुन्छ। वातावरणले खेलाडीहरुलाई अधिकार छ तर कुनै जिम्मेवारी छैन भन्ने भान गराउँछ। त्यस्तो हुँदा सन्तुलन बिग्रँदै जान्छ। “,उनले भने।
संघर्षरत पोचेटिनो
मेस्सी, नेयमार र एम्बाप्पे जस्ता विश्वका उत्कृष्ट खेलाडीहरु बीच तालमेल मिलाउन उनी संघर्ष गरिरहेका छन्। विश्वका सबै भन्दा उत्कृष्ट मानिएका अन्य खेलाडीहरु समेत भए पनि पिएसजीलाई अपेक्षा गरिएजस्तो बलियो अवस्थामा उभ्याउन उनले सकेका छैनन्। एक टीमले सन्तुलित प्रदर्शन गर्नको लागि समय लाग्ने पोचेटिनोको भनाई रहने गरेको छ।