एजेन्सी – इन्टरनेसनल ब्रेक पछि क्लब फुटबल पुनः सुचारु भएको छ। यससँगै युरोपका शिर्ष लिगहरु धेरै क्लब बीच प्रतिष्पर्धा पुनः शुरु भएको छ। फ्रेन्च लिग वानमा शनिबार पेरिस सेन्ट जर्मेन(पिएसजी)ले नान्टेसको सामना गर्दैछ। पिएसजीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार शनिबार राति ९ बजेर ४५ मिनेटमा शुरु हुनेछ।
जारी सिजनमा पिएसजी फ्रेन्च लिग वानमा बलियो प्रदर्शन गरिरहेको छ। पिएसजीले सिजनका १३ खेल खेल्दा १ खेलमा मात्र हार बेहोरेको छ। १ खेलमा बराबरी खेल्दा ११ जित निकालेको छ। पिएसजी ३४ अंक सहित लिग वानको शिर्ष स्थानमा छ।
नान्टेसले भने जारी सिजनमा सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन। समान १३ खेल खेल्दा नान्टेसले मात्रै ५ खेलमा जित निकालेको छ। ५ खेलमा हार्दा ३ खेलमा भने बराबरी खेलेको नान्टेस पिएसजी विरुद्ध ‘अन्डरडग’को रुपमा मैदानमा उत्रनेछ।
पिएसजी र नान्टेस बीच भएका पछिल्ला २६ खेलमा पिएसजीले २२ खेलमा जित निकालेको छ भने २ खेलमा बराबरी खेलेको छ। नान्टेसले भने २६ खेलमा पिएसजी माथि मात्र दुई जित निकालेको छ।
पिएसजी र नान्टेस बीच पछिल्लो पटक गएको मार्चमा भेट भएको थियो। त्यसबेला नान्टेस २-१ को गोल अन्तरले विजयी भएको थियो। शनिबार हुने खेलमा पिएसजी पछिल्लो हारको बदला लिने दाउमा हुनेछ।
मेस्सी खेल्ने सम्भावना कति ?
मेस्सी गएको केहि खेल देखि पिएसजीको पहिलो रोजाईमा पर्न सकिरहेका छैनन्। पूर्णरुपमा फिट नभएका कारण उनी पिएसजीको पहिलो टोलीमा नपरेका हुन्। फिट नहुँदै मेस्सी अर्जेन्टिना पुगेर विश्वकप छनौट पुगेका थिए। ब्राजिल विरुद्धको खेलपछि मेस्सीले आफू पूरै फिट नभएको संकेत गरेका थिए।
यहि कारणले गर्दा मेस्सी पिएसजीको पहिलो रोजाईमा नपर्ने सम्भावना छ। तर शनिबार मेस्सीले खेल्ने केहि सम्भावना छ। फ्रेन्च मिडियाहरुका अनुसार मेस्सी शुरुवाती ११ मा समावेश नभएपछि वैकल्पिक खेलाडीको रुपमा खेल्न सक्नेछन्। च्याम्पियन्स लिगमा पिएसजीले अर्को हप्ता म्यानचेस्टर सिटीको सामना गर्नुपर्ने हुँदा मेस्सी शनिबार पिएसजीको टोलीमा समावेश नहुन पनि सक्छन्।

