एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई युरोपियन च्याम्पियन बनाउने मौका मौरिसियो पोचेटिनोको हातबाट फुत्किदै गएको छ। स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोले गरेको दावी अनुसार पिएसजी पोचेटिनोको कामबाट सन्तुष्ट छैन। जस कारण पिएसजीले पोचेटिनोको विकल्प बारे सोच्न थालिसकेको छ।
पिएसजीले पोचेटिनोको स्थानमा रियल म्याड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदानलाई ल्याउने तयारी गरिरहेको डिपोर्टिभोको दावी छ। त्यसको लागि पिएसजीले भित्र-भित्रै कुरा अगाडी बढाएको बताइन्छ।
रियल छाडेपछि खालि रहेका जिदान खालि छन्। फुटबलवृत्तमा चलेको चर्चा अनुसार जिदान पिएसजी, म्यानचेस्टर युनाइटेड र फ्रान्सको राष्ट्रिय फुटबल टोली मध्ये एकको प्रशिक्षक बन्न सक्छन्।
पिएसजीले जिदानलाई विभिन्न समयमा सम्पर्क गरिसकेको खबरहरु आएका छन्। युनाइटेड जान भाषा बाधक बन्न सक्ने भएका कारणले गर्दा पनि जिदान फ्रान्समै रहने र पिएसजीको जिम्मेवारी सम्हाल्ने सम्भावना देखिन्छ।
जिदान विश्वका उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडीहरुलाई व्यवस्थापन गर्ने क्षमता राख्छन्। रियल म्याड्रिडमा रहँदा उनले क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र ग्यारेथ बेल जस्ता खेलाडीको राम्रो व्यवस्थापन गरेका थिए। यहि कारणले गर्दा पनि पिएसजी जिदान प्रति आकर्षित भएको हो।
लियोनेल मेस्सी, नेयमार, किलियन एम्बाप्पे जस्ता विश्वका उत्कृष्ट खेलाडी भएर पनि पिएसजीले भने जस्तो प्रदर्शन गर्न सकिरहेको छैन। जसले गर्दा पोचेटिनोको प्रशिक्षण क्षमता माथि प्रश्न उठिरहेको छ। विश्वको सबै भन्दा घातक ट्रियो हुन सक्ने सम्भावना रहेका यी तीन खेलाडीलाई जिदानले व्यवस्थान गरेर कयौं उपाधि दिलाउनेमा पिएसजी ढुक्क रहेको देखिन्छ।