एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे माथि लिभरपुलको चासो नयाँ होइन। गएको धेरै समय देखि एम्बाप्पेलाई धेरै नजिकबाट नियालिरहेको छ। एम्बाप्पेको पहिलो रोजाईको क्लब रियल म्याड्रिड रहेपनि लिभरपुलले एम्बाप्पेलाई अनुबन्ध गर्न सक्ने आशा कायमै राखेको छ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप आफैं पनि एम्बाप्पेका प्रशंसक हुन्। विभिन्न अवसरहरुमा उनले एम्बाप्पे कति राम्रा खेलाडी हुन् भन्ने बारे बोल्ने गरेका छन्। यसैबाट थाहा हुन्छ कि उनी एम्बाप्पेलाई आफ्नो टीममा कति चाहन्छन्। त्यस्तै एम्बाप्पे पनि क्लोपक प्रशंसक हुन्। क्लोपसंग काम गर्न इच्छुक रहेको बारे एम्बाप्पेले सार्वजनिक रुपमै बोलिसकेका छन्।
विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा अनुसार क्लोपसँग काम गर्ने एम्बाप्पेको चाहना फाइदाजनक बन्न सक्छ। क्लोपका कारण एम्बाप्पे लिभरपुल जान सक्ने स्पेनिस प्रकाशन डिफेन्सा सेन्ट्रलले जनाएको छ। उसका अनुसार एम्बाप्पेको प्राथमिकता रियल म्याड्रिड रहेपनि उनी क्लोपका कारण लिभरपुल नपुग्लान् भन्न सकिन्न।
डिफेन्सा सेन्ट्रलले आफ्नो समाचारमा उल्लेख गरेअनुसार लिभरपुलले एम्बाप्पेलाई वार्षिक ३० मिलियन युरो भन्दा बढी पारिश्रमिक सहितको प्रस्ताव गर्न गर्ने तयारी गरिरहेको छ। गएको ट्रान्सफर विन्डोमा लिभरपुलले एम्बाप्पे भित्रयाउनकै लागि खर्च नगरेको समाचारमा उल्लेख गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले एम्बाप्पे र लिभरपुललाई जोडेर विभिन्न दावी गरिरहेपनि एम्बाप्पे भित्र्याउन लिभरपुललाई त्यति सजिलो हुने भने देखिँदैन।
पहिलो कुरा त पिएसजी एम्बाप्पेलाई कतै जान दिने पक्षमा देखिँदैन। पिएसजीले लगातार एम्बाप्पेलाई सम्झौता थप गर्न दबाव दिरहेको छ। दोस्रो कुरा यो छ कि रियल म्याड्रिड जाने एम्बाप्पेको चाहना होइन सपना नै हो।
एम्बाप्पेको सर्तको चर्चा
केहि समय देखि फुटबलवृत्तमा नयाँ चर्चा शुरु भएको छ। बताउन थालिएको छ कि – एम्बाप्पे कार्लो एन्सेलोटीसंग काम गर्न इच्छुक छैनन्। कार्लो एन्सेलोटीलाई हटाएर नयाँ प्रशिक्षक नियुक्त गरेको खण्डमा मात्रै एम्बाप्पे म्याड्रिड जाने बताइन्छ। एम्बाप्पेले क्लोपलाई प्रशिक्षक नियिक्त गर्न रियललाई आग्रह गरेको स्पेनका विभिन्न मिडियाहरु अपुष्ट रुपमा दावी गरिरहेका छन्।