एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले खराब प्रदर्शनलाई कायमै राखेको छ। शनिबार राति युनाइटेडले कम्जोर आँकिएको वाटफोर्ट विरुद्ध पनि अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकेन। युनाइटेड ४-१को गोल अन्तरले पराजित भयो।
पहिलो हाफमै २ गोलले पछाडी परेको युनाइटेडको समस्या त्यति बेला बढ्यो, जब ह्यारी म्यागुएर रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। म्यागुएर दोस्रो हाफको ६९ औं मिनेटमा रेड कार्ड बेहोर्दै बाहिरिन पुगेका थिए।
खेलको पहिलो हाफमै युनाइटेडले दुई गोल बेहोर्न पुग्यो। खेलको २८ औं मिनेटमा जोशुआ किङले वाटफोर्टका लागि पहिलो गोल गरे। त्यसको १६ मिनेटमा इस्माइलाले वाटफोर्डका लागि दोस्रो गोल गरे। वाटफोर्टले ९० मिनेट पछि थप गरिएको समयमा पनि दुई गोल गर्यो। ४ मिनेटको अन्तरालमा दुई गोल खाँदा युनाइटेड ४-१ गोलले पछि पर्यो।
युनाइटेडका लागि एक मात्रै गोल डोनी भान डे विकले गरे। खेलको ५० औं मिनेटमा उनले गोल गरेका थिए। उनी बाहेक युनाइटेडका अन्य कुनै पनि खेलाडीले गोल गर्न सकेनन्।
बलमा राम्रो पकड बनाएपनि क्रिस्टियानो रोनाल्डो सहितका स्ट्राइकरहरु गोल गर्न चुके। खेलका दौरान युनाइटेडको तर्फबाट कुल ९ प्रहार भए। जस मध्ये ३ प्रहार टार्गेटमा थिए। त्यस्तै बलमा कम पकड भएपनि वाटफोर्टले कुल २० प्रहार गरेको थियो। जसमा ७ प्रहार टार्गेटमा थिए।
शनिबारको जितसँगै वाटफोर्ड प्रिमियर लिगको १६ औं स्थानमा उक्लिएको छ। वाटफोर्डले १२ खेलमा ४ जित र ७ हार सहित १३ अंक बनाएको छ। त्यस्तै युनाइटेड भने लिगको ७ औं स्थानमा झरेको छ। १२ खेलमा ५ जित र ५ हार सहित युनाइटेडले १७ अंक जोडेको छ।