एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) जति सक्दो छिटो किलियन एम्बाप्पेको सम्झौता थप गर्न चाहन्छ। विन्टर ट्रान्सफर विन्डो नजिकिँदै गर्दा पिएसजीको बेचैनी लगातार बढिरहेको छ। पिएसजीसँग एम्बाप्पेको सम्झौता यस सिजनको अन्त्य सम्मका लागि मात्रै छ। जसकारण पिएसजी सक्दो छिटो एम्बाप्पेको टुङ्गो लगाउन चाहन्छ।
एम्बाप्पे फ्री ट्रान्सफरमा उपलब्ध हुनुभन्दा अगाडी सम्झौता थप गर्नेमा पिएसजी केन्द्रित छ। लामो समय देखि एम्बाप्पेलाई फकाउने प्रयासमा रहेको पिएसजीले त्यसका लागि ठूलो रकम खर्च गर्नुपर्ने देखिन्छ।
गएको ट्रान्सफर विन्डोमा स्पेनिस महारथी रियल म्याड्रिड एम्बाप्पेका लागि २ सय मिलियन युरो सम्म तिर्न तयार भएको थियो। त्यसबाटै थाहा हुन्छ रियल म्याड्रिड एम्बाप्पेलाई कति चाहन्छ। एम्बाप्पे पनि रियल जाने पक्षमा रहिआएका छन्। एम्बाप्पेलाई रियल जानबाट रोक्न पिएसजीले जुन सुकै कदम चाल्ने बताइरहेको छ।
एम्बाप्पे रियल जान धेरै नै बल गरिरहेका कारण उनलाई कम्तिमा एक सिजन रोक्ने पिएसजीको योजना रहेको छ। विभिन्न मिडियाहरुका अनुसार पारिश्रमिक अत्याधिक बढाएर भएपनि एम्बाप्पेलाई एक सिजन रोक्ने पक्षमा पिएसजी छ।
मौका कुर्दै रियल
२ सय मिलियन तिर्न तयार हुँदा पनि एम्बाप्पे भित्र्याउने योजना असफल भएपछि रियल अहिले पर्ख र हेरको अवस्थामा छ। एम्बाप्पेको सम्झौतालाई रियलले धेरै नजिकबाट नियालिरहेको छ। एम्बाप्पे जनवरीबाट अग्रिम सम्झौताका लागि उपलब्ध हुने हुँदा रियलले त्यहि मौकालाई कुरिरहेको छ। यदि एम्बाप्पेले पिएसजीका सम्पूर्ण प्रस्ताव अस्विकार गरेको खण्डमा रियल र एम्बाप्पे बीच जनवरीमै अग्रिम सम्झौता हुनेछन्।